जेठ १७ गते आएको हावाहुरीले तनहुँको बन्दीपुर गाउँपालिका–३ मा रहेको सरस्वती आधारभूत विद्यालयको टिनको छानो उडायो । हावाहुरीले स्कुलको छानो उडाएपछि प्रधानाध्यापक सरस्वती भट्टराईले पालिकामा खबर गरिन् ।
पालिकाले अर्को दिन त्रिपाल पठायो । तर, त्यो त्रिपाललाई पनि १८ गतेको हावाहुरीले च्यातचुतमात्रै पारेन, उडाएरै लग्यो । त्यसको केही दिनपछि पानी पर्न थाल्यो, कक्षा कोठामा विद्यार्थी राखेर पढाउन सक्ने स्थिति नै बनेन ।
सबै कक्षाका विद्यार्थी र कार्यालय एकै ठाउँमा राखेर पढाउन सकस भएपछि सोमबार त्यहाँ ३ जना शिक्षिका आफैं धुरी चढे र हावाले उडाएको टिन ठाकठुक पार्न थाले । धुरीमा त्यही स्कुलमा कार्यरत वन्दना भट्टराई, शुभकामना कुँवर र निर्मला राना चढेर मर्मत गरेका थिए ।
‘उहाँहरु माथि चढेर टाल्न थाल्नुभयो । हामी तलबाट सहयोग गर्यौं । विद्यार्थीलाई त पढाउनुपर्यो नि !’ भट्टराईले भनिन्, ‘पालिकालाई खबर गर्दा ढिलो हुने भनेपछि आफैं काम गरेका हौं ।’
सरस्वती आधारभूत विद्यालयमा ७ जना शिक्षक छन् । विद्यालयका २ वटा भवन छन् तर, दुवै जीर्ण भइसकेका छन् । हावाहुरी र वर्षातको समयमा छना चुहिँदा पढाउन निकै सास्ती खेप्नुपर्ने बाध्यता रहेको भट्टराईले गुनासो पोखिन् ।
बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा १७ गतेको हावाहुरीले पालिकाका एक सयभन्दा बढी घरको छाना उडाएको जानकारी दिए । हावाहुरीले क्षति पुर्याएका घरपरिवारलाई राहत बाँड्ने काम भइरहेको र पहिलो प्राथमिकता नै स्कुललाई दिइएको उनले बताए ।
‘हावाहुरीले छानो उडाएको भोलिपल्टै पालिकाबाट त्यहाँ त्रिपाल पठाएको हो । त्यसको छानो छाउनका लागि प्राविधिकको टोली पठाएर स्टिमेट ल्याउन भनिएको छ’, उनले भने, ‘स्टिमेट आएपछि के गर्ने तय हुन्छ ।’ उनले पालिकाभरि धेरैको घरमा क्षति पुगेकाले अहिले राहत वितरणमै समय दिइरहेको सुनाए ।



















