झापा। झापाको बिर्तामोडमा एक भारतीय नागरिकमाथि छुरा प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका–६ स्थितमा फुलबारीको व्यावसाय गरेर बस्दै आएका भारतीय नागरिक ३५ वर्षीय हविबुल स्लामलाई बुधबार बेलुका दुई युवाले छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट स्लामको ढाँड र कुममा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा इलाम घर बताउने हाल बिर्तामोड–५ मा बस्दै आएका २१ वर्षीय भद्रबहादुर बस्नेत र ताप्लेजुङ फुङ्लिङ नगरपालिका–६ घर बताउने हाल बिर्तामोड–६ मा बस्दै आएका २६ वर्षीय रोहन तामाङ रहेका छन् ।
स्लामलाई छुरा प्रहार गरेर उनीहरु फरार भएका थिए । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा उनीहरुलाई आज दिउँसो बिर्तामोड–५ स्थित सुगम पेट्रोल पम्प नजिकबाट पक्राउ गरेको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान अघि बढाइएको छ । घाइते स्लामको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



















