प्रधानमन्त्री ओलीले आज संसदबाट विश्वासको मत लिँदै, समर्थनको सङ्ख्या पूर्ण हुने अपेक्षा
काठमाडौँ, २१ जुलाई – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बोलाइएको छ। नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्षसमेत रहेका ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तिमा १३८ सांसदको समर्थन पाउनुपर्छ। नेकपा एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरिसकेको छ।
सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका कारण ओलीलाई विश्वास प्राप्त गर्न कांग्रेसका ८८ र एमालेका ७९ सांसदकै समर्थन पर्याप्त हुने देखिन्छ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा रहेका कारण ती दलहरूबाट पनि प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने अपेक्षा गरिएको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि प्रधानमन्त्री ओलीलाई विश्वास मत दिने निर्णय गरिसकेको छ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, नेकपा (एकीकृत समाजवादी)का १०, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १/१ जना र दुईजना स्वतन्त्र सांसद रहेका छन्।
कांग्रेस संसदीय दलको बैठक प्रतिनिधि सभाको बैठकअघि बस्दैछ जसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्ने अपेक्षा गरिएको छ।



















