सडक निर्माणमा ढिलाइ, स्थानीयको विरोधले बिर्तामोड-चन्द्रगढी सडक अवरुद्ध
झापा। बिर्तामोड-चन्द्रगढी सडकखण्ड निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयले बिर्तामोड ८ देउनियामा सडक अवरोध गरेका छन्। बुधबार बिहान ९:१५ बजेबाट स्थानीयले बाँस र ढुङ्गा राखेर सडक अवरुद्ध गरेका हुन्।
मंगलबार दिउँसो ४ बजेदेखि प्रहरीले अवरोध हटाएको थियो, तर आज बिहान स्थानीयले पुनः सडक अवरोध गरि सवारीसाधन चल्न दिएका छैनन्। सडक निर्माणमा भएको ढिलासुस्ती, धुँवा र धुलोले दैनिक जीवनयापनमा कष्ट भएको भन्दै बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा स्थानीयले चक्काजाम गरेका हुन्। वडाध्यक्ष कार्कीले सडक निर्माण नभएसम्म चक्काजाम जारी रहने बताए।
सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले राष्ट्रिय राजमार्ग यसरी बन्द हुनु गम्भीर विषय भएको बताउँदै यसको शीघ्र समाधान गर्न निर्माण कम्पनी काठमाडौंको कन्टेक प्रालिलाई पत्र पठाइएको जानकारी दिए। तर, छलफलका लागि कुनै पत्र नआएको वडाध्यक्ष पौडेलले बताए, जसका कारण बाटो बन्द यथावत रहेको छ।
चार लेनको सडक निर्माणमा ढिलासुस्ती हुँदा हिउँदमा धुलो र अहिले वर्षायाममा हिलोले जनता सास्ती झेल्दै आएका छन्। देउनियाँ पुलदेखि लेखनाथ चोकहुँदै भैरव चोकसम्मको चार लेनको सडक निर्माणका लागि करिब ६० करोड रुपैयाँमा ठेक्का लिएको निर्माण कम्पनीले २०७७ माघ ६ गते सम्झौता गरेको थियो। ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौतामा दुई पटक म्याद थप भए पनि कम्पनीले हालसम्म ४० प्रतिशत मात्र काम सम्पन्न गरेको छ।
स्थानीयले सडक निर्माणको काम चाँडो सम्पन्न गर्न र जनतालाई सास्तीबाट मुक्त गर्न माग गरेका छन्। निर्माणको ढिलासुस्ती र अवरोधका कारण जनजीवन प्रभावित बनेको छ।