झापा।— झापामा यो वर्षको बर्खे धान रोपाइँ हालसम्म ९२ प्रतिशत सम्पन्न भएको छ। कूल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ६९ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो। अघिल्लो वर्षको तुलनामा यो वर्ष धान खेतीको क्षेत्रफल घटेको छ।
गत वर्ष ८५ हजार ७५० हेक्टरमा धान खेती गरिएको थियो भने ४ लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको थियो। यस वर्षको बर्खे धान खेतीमा क्षेत्रफलमा घटावट देखिएको छ।
विपरीत, चैते धानको क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/०८० मा १९ हजार आठ सय हेक्टरमा चैते धान खेती गरिएकोमा यो वर्ष २० हजार हेक्टरमा चैते धान खेती गरिएको छ। यस वर्ष एक लाख १६ हजार दुई मेट्रिकटन चैते धान उत्पादन भएको छ, जुन अघिल्लो वर्षको एक लाख दुई हजार नौ सय ६० मेट्रिकटनको तुलनामा बढी हो।
कृषि ज्ञान केन्द्रको सहयोगमा झापामा मेसिनले धान रोपाइँको प्रविधि प्रस्तुत गरिएको छ। छ वटा पालिकामा १०५ बिघा क्षेत्रफलमा मेसिन प्रयोग गरेर नमूना धान खेती गरिएको छ। यस अन्तर्गत ६० जना कृषक आबद्ध छन्।
कोशी प्रदेश सरकारको ‘कष्टम हायरिङ्ग सेन्टरमार्फत यान्त्रिकीकरण प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत कृषि ज्ञान केन्द्रले ‘राइस ट्रान्सप्लान्टर’ प्रविधिको प्रदर्शन गर्दै कृषकलाई प्राविधिक सहयोग गरिरहेको छ। कृषकलाई लागतमा ५० प्रतिशत अनुदान प्रदान गरिएको छ, जसले कृषकको २० प्रतिशत लागत घटाउन मद्दत पुर्याउने छ।
यस कार्यक्रममार्फत भविष्यमा अन्य संस्थाहरूलाई कष्टम हायरिङ सेन्टर स्थापना गरेर व्यवसाय गर्ने मार्गदर्शन र कृषकलाई मेसिनको प्रयोगतर्फ प्रेरित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।