Search
Close this search box.
Search
Close this search box.

भारत तस्करी हुन लागेको दुर्लभ वन्यजन्तु टोकेसहित एकजना पक्राउ

भारत तस्करी गर्न लैजाँदै गरिएकाे अवस्थामा दुर्लभ वन्यजन्तु टोकेसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

लोपोन्मुख एवं सङ्कटापन्न वन्यजन्तु टोकेसहित सुन्दरहरैँचा नगरपालिका–११ का ४० वर्षीय दीपककुमार चौधरी पक्राउ परेका हुन्।

EPIC EPIC EPIC

भारतीय नागरिकलाई बिक्री गर्नका लागि टोके बोकेर हिँड्दै गरेको अवस्थामा कानेपोखरी गाउँपालिका–७ बाट चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालले जानकारी दिए।

उनका अनुसार चौधरीले बोकेको ‘ब्याग’ बाट बरामद भएको टोकेको उद्धार गरिएको छ।

चौधरीले प्रयोग गरेको प्रदेश १–०२–०४४ प ५४७७ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका चौधरीसहित उद्धार गरिएको टोकेलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सब डिभिजन वन कार्यालय कानेपोखरीको जिम्मा लगाइएको डिएसपी दाहालले बताए।

चौधरी पक्राउ परेर टोके बरामद भएसँगै नेपालबाट पछिल्लो समय भारततिर तस्करी भइरहेको खुलेको छ। वन कार्यालयका अनुसार छेपारो जस्तै देखिने यो सरीसृप (घस्रेर हिँड्ने) प्रजातिको वन्यजन्तु हो। वन्यजन्तु विज्ञहरु टोकेको अंग्रेजी नाम टोके गेको र वैज्ञानिक नाम गेको गेको रहेको बताउँछन्। टोकेलाई रंग फेर्ने छेपारो भनेर पनि चिन्ने गरिन्छ।

टोके अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्यमा बिक्री हुने वन्यजन्तुमध्येमा एक रहेको बताउँदै, सब डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख एवं वन अधिकृत मोहम्मद अलाउद्दिनले भने, ‘पूर्व क्षेत्रबाट पछिल्लो समय भारततर्फ टोकेको तस्करी हुने गरेको खुलेको छ। भारतको बाटो हुँदै बंगलादेशलगायत अन्य मुलुकमा तस्करी भइरहेको पाइएको छ।’

केही वर्षअघि भारतीय तस्करले यहाँ आएर चोरी तस्करी गर्दै भारतको बाटो हुँदै अन्य मुलुकमा पठाउने गरेका थिए। त्यस क्रममा एक जना भारतीय नागरिक टोकेसहित पक्राउ परेका थिए। पूर्वको जंगलबाट टोकेको तस्करी बढ्न थालेपछि यसको अस्तित्व नै संकटमा पर्ने र टोके लोप हुने देखिएपछि कडाइ गरिएको थियो। बीचमा रोकिएको तस्करी पुनः सुरु भएको पाइएको वन अधिकृत अलाउद्दिनले बताए।

उनका अनुसार टोके नेपाल, भारत, भुटान, बंगलादेश, फिलिपिन्स, मलेसिया तथा इन्डोनेसियालगायतका केही सीमित देशमा मात्रै पाइन्छ। ‘टोके लोपोन्मुख एवं सङ्कटापन्न सरीसृप प्रजातिको वन्यजन्तु हो। छेपारोजस्तै देखिन्छ। बढीमा ५ सय ग्रामसम्म यसको तौल हुन्छ। रातको समयमा सुन जस्तै टल्किन्छ। बिना इजाजत पाल्न, बेचबिखन गर्न र ओसारपसार गर्न पाइँदैन।

प्रहरीले उद्धार गरेको टोकेको लम्बाई ३५ सेन्टिमिटर र तौल १ सय १० ग्राम छ। झापा, मोरङ र सुनसरीका जंगलमा पाइने टोकेको सखुवा (साल) भएको जंगल यसको मुख्य वासस्थान रहे पनि कतै कतै काठका पुराना घरहरुमा पनि पाइन्छ।

पक्राउ परेका चौधरीले भारत पश्चिमबंगालका रवि दासभन्ने व्यक्तिलाई आफूले बिक्री गर्न लागेको प्रारम्भिक बयान दिएका छन्। ‘टोके लिनलाई कानेपोखरीसम्म आफैं आउँछु भनेकाले ल्याइदिएको हुँ। त्यसबापत दासले २० हजार रुपैयाँ दिने सर्त थियो,’ चौधरीको प्रारम्भिक बयान उद्धृत गर्दै वन कार्यालय स्रोतले भन्यो।

तर, चौधरीले २० हजारको कुरा गरे पनि प्रहरीले भने टोके किनबेचका लागि चौधरी र भारतीय नागरिकबिच १६ लाख रुपैयाँमा ‘डिल’ भएको दाबी गरेको छ। भारतीय नागरिकसँग १६ लाख रुपैयाँमा कुरा मिलेपछि चौधरीले कानेपोखरीसम्म ल्याइदिएको प्रहरीको भनाइ छ।

टोकेलाई सरकारी वकिलको निर्देशनमा जंगलमा छाडिसकिएको छ। अनुसन्धान अधिकृत तोकिएका उनकै नेतृत्वमा वन कर्मचारी र वन विज्ञसहितको टोलीले विस्तृतमा यसको अनुसन्धान अघि बढाएको वन अधिकृत अलाउद्दिनले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *