भद्रपुर। झापा जिल्ला अदालत परिसरमा थुनुवा कक्ष निर्माण भएको छ ।
आज एक कार्यक्रमका बीच थुनुवा कक्षको झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेत र भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
विभिन्न मुद्दामा फौजदारी अभियोग लागेका प्रतिवादीलाई मुद्दाको प्रक्रियागत सिलसिलामा अदालतमा उपस्थित गराउँदा सुरक्षित तवरले राख्नका लागि अदालतमा थुनुवा कक्ष निर्माण गरिएको झापा अदालतका प्रमुख न्यायाधीश बस्नेतले बताउनुभयो ।
“थुनुवाहरूले आफन्तसँग भेटघाट गर्न पाइएन भन्ने गुनासो आउने गरेको छ”, अदालतका श्रेस्तेदार किरणकुमार सिंहँले भन्नुभयो, “थुनुवा कक्ष निर्माण भएसँगै थुनुवासँग उनीहरूका आफन्तले छोटो भेटघाट र बोलचाल गर्न सकिने भएको छ ।”
न्याय सम्पादनमा सहजता ल्याउने उद्देश्यले थुनुवा कक्ष निर्माणका लागि सहयोग गरिएको नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो । भद्रपुर नगरपालिकाको रू १० लाख लागतमा निर्माण भएको थुनुवा कक्ष ३० जना क्षमताको रहेको छ भने महिला र पुरुषको फरक–फरक शौचालयसमेत रहेको छ ।
प्रमुख न्यायाधीश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, जिल्ला सरकारी वकिल कार्यालय झापाका प्रमुख रुद्र आचार्य, जिल्ला प्रहरी कार्यालयका, बार इकाई झापा र कारागार कार्यालय झापाका प्रतिनिधि लगायत अदालतका शाखा अधिकृत कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नुभएको थियो ।