झापा। मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ल्वाथाङमा तेस्रो संस्करणको गल्फ कोर्स प्रतियोगिता सम्पन्न भएको छ। समुद्री सतहदेखि ४,६४५ मिटरको उचाइमा आयोजित यो प्रतियोगिता विश्वकै उच्च स्थानमा रहेको गल्फ कोर्समा गरिएको हो।
आयोजक र गल्फ कोर्सका व्यवस्थापक इन्द्रधारा विष्टका अनुसार, यो प्रतियोगिता लोमान्थाङको पर्यटन प्रवद्र्धनका लागि गरिएको हो। प्रतियोगिता ‘टप अफ दि वल्र्ड गल्फ क्लासिक’ नाममा खेलाइएको थियो, जसमा इन्द्रधारा विष्टले उपाधि जितेका छन्। विष्टले ९ होलको खेलमा ३ हन्डर हान्दै २१ स्कोर प्राप्त गरे। उनले ३ होलमा पार, एक होलमा त्रिपल बुगी, र ५ होलमा बुगी खेल्दै उपाधि जित्न सफल भएका छन्।
नेपाल गल्फ एसोसिएनका उपाध्यक्ष फुर्साङ लामा दोस्रो स्थानमा रहे। उनले ५ होलमा पार, एक होलमा डबल बुगी र ३ होलमा बुगी खेल्दै २ अन्डर २० स्कोर प्राप्त गरे। पुरुष तर्फको ग्रस उपाधि गैर आवासीय नेपाल संघ अमेरिकाबाट प्रतिनिधित्व गरेका निर्मल श्रेष्ठले जितेका छन्। उनले १४ स्कोर सहित ग्रस उपाधि हासिल गरे। तेस्रो होलको पार थ्रिमा उनले बर्डी हिर्काएका थिए।
महिला तर्फको उपाधि पोखराकी बालकाशी गुरुङले जितिन्। उनले ५ अन्डर २३ को स्कोर प्राप्त गरिन्। धरानकी झुना राई दोस्रो स्थानमा रहिन्।
प्रतियोगितामा होल नम्बर ३ मा होल इन वन गर्ने खेलाडीलाई याक प्रदान गर्ने भनिएपनि कुनै खेलाडीले यो पुरस्कार जित्न सकेनन्। विजेता खेलाडीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले पुरस्कार र ट्रफी वितरण गरे।
प्रवन्धक इन्द्रधारा विष्टले आगामी दिनमा पनि यो प्रतियोगिता निरन्तरता दिने योजना रहेको र विश्वभर प्रचारप्रसार गरेर विदेशी खेलाडीहरुलाई आकर्षित गर्ने योजना बनाइएको जानकारी दिए। गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले गल्फ प्रतियोगिता पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने आशा व्यक्त गरे।