इलाम, भदौ ४- इलामको माई नगरपालिका–१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा हृदयघातबाट निधन भएको छ। अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी श्रेष्ठको निधन आइतबार (भदौ २) भएको हो। उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्।
उनका फुपाजु होम श्रेष्ठका अनुसार, आइतबार निधन भएको खबर सोमबार मात्र परिवारले पाएको हो। “हिजो निधन भएको भन्दै आज खबर आएको छ,” श्रेष्ठले भने। हालसम्म हृदयघातका कारण निधन भएको खबर परिवारमा पुगेको भए पनि वास्तविक कारण अझै खुलेको छैन।
इलाम कोरिया जनसम्पर्क मञ्चका अध्यक्ष हरि खनालले सोमबार दिउँसो श्रेष्ठको शव पोस्टमार्टम भइसकेको जानकारी दिए। यद्यपि, पोस्टमार्टम रिपोर्ट भने अस्पतालले दूतावासलाई प्रदान गरिसकेको छैन। शवलाई नेपाल पठाउनका लागि पहल गरिरहेको खनालले बताए।
“शव नेपाल पठाउने प्रक्रिया पूरा हुँदैछ,” खनालले भने, “खर्च महँगो हुने अनुमान छ, कम्तीमा १२ लाख लाग्ने भएकाले हामी त्यसको व्यवस्था गरिरहेका छौँ।” परिवारका सदस्यले स्थानीय सरकारसँग समन्वय गरेर शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका छन्।
माई नगरपालिका–१ का अध्यक्ष राम बहादुर राईले सोमबार कार्यालय बन्द भएकाले ढिला खबर पाएको र भोलि बिहानैबाट शव ल्याउनका लागि परिवारसँग समन्वय गरिने जानकारी दिए।
सोनुका बुवा लिला कुमार श्रेष्ठको पनि तीन महिना अघि मलेसियामा वैदेशिक रोजगारीका क्रममा निधन भएको थियो। परिवारमा एकपछि अर्को बज्रपात आइरहेको बताउँदै उनका फुपाजु होम श्रेष्ठले भावुक हुँदै भने, “बुवाको पनि तीन महिनाअघि मलेसियामा निधन भएपछि शव नेपाल ल्याएर अन्तिम दाहसंस्कार गरियो।”
सोनुको परिवारमा ४५ वर्षीया आमा प्रतिमा श्रेष्ठ, एक भाइ र एक बहिनी छन्। उनकी आमा गाउँमै सामान्य खेतीपाती गर्छिन् भने भाइ कक्षा ७ र बहिनी कक्षा १२ मा अध्ययनरत छन्। सोनुको एक दिदीको भने बिहे भइसकेको छ।