कचनकवल: राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले एकैपटक दुईजना अग्रज नेताहरू गुमाएको छ। कचनकवल गाउँपालिकाका दुई प्रभावशाली नेता अघँनलाल राजवंशी र मोहन चन्द्र गणेशको निधन भएको हो।
शुक्रबार साँझ १० बजे कचनकवल-७ स्थित आफ्नै निवासमा ८९ वर्षीय अघँनलाल राजवंशीको निधन भएको हो। उनी राप्रपा कचनकवलका संस्थापक सदस्य तथा तत्कालीन बालुबाडी पञ्चायत व्यवस्थापनका उपप्रधानसमेत थिए। राजवंशी लामो समयदेखि उच्च रक्तचाप र मृगौलासम्बन्धी रोगबाट पीडित थिए। उनको अन्त्येष्टि आजै दिपज्योती सामुदायिक वनमा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।
यसैगरी, केचनाका पूर्व गाविस अध्यक्ष तथा राप्रपाका संस्थापक सदस्य मोहन चन्द्र गणेशको शनिबार बिहान करिब ४:३५ बजेको समयमा आफ्नै निवासमा निधन भएको छ। ७७ वर्षीय गणेश लामो समयदेखि क्यान्सरबाट पीडित थिए।
राप्रपाका नेताहरूले दुबै नेताको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताएका छन्।