बनियानी । झापाको कचनकवल गाउँपालिकाको ताराबनामा लागूऔषध दुर्व्यसन न्यूनिकरण गर्ने उद्देश्यले ताराबन युवा परिवारको आयोजनामा भएको प्रथम ताराबन कप २०८१ अन्तर क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि पूर्णिमा सी क्लब रङगेडाँडाले उचालेको छ ।
फाइनल खेलमा हिमाली युनाइटेड क्लब र पूर्णिमा सी क्लब रङगेडाँडाबीच प्रतिस्पर्धा भएको थियो। खेलमा १-० गोलको जित निकाल्दै पूर्णिमा सी क्लब रङगेडाँडा विजयी भएको छ। प्रथम हुनेलाई नगद रु ४०,००० र प्रमाणपत्रसहित शिल्ड प्रदान गरिएको छ भने दोस्रो हुने हिमाली युनाइटेड क्लबलाई नगद रु २५,००० र प्रमाणपत्र प्रदान गरियो। खेलको क्रममा म्यान अफ द म्याच घोषणा गरिनुका साथै विजयी खेलाडीलाई मेडल प्रदान गरिएको थियो।
फाइनल खेलको उद्घाटन प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजबंशीले गर्नुभएको थियो। विशेष अतिथिको रूपमा दीपज्योति सामुदायिक वनका अध्यक्ष हरि प्रसाद लिम्बू, समाजसेवी हरि सिक्देल, र वडा अध्यक्ष भरत राजबंशी उपस्थित हुनुहुन्थ्यो।
दीपज्योति सामुदायिक वनका अध्यक्ष हरि प्रसाद लिम्बूले समाजमा फैलिँदो दुर्व्यसन र विकृति अन्त्य हुनुपर्नेमा जोड दिँदै दशैं तथा अन्य चाडपर्वको शुभकामना व्यक्त गर्नुभयो। समाजसेवी हरि सिक्देलले खेलको व्यवस्थापन र खेलाडीहरूको उत्साहको प्रशंसा गर्नुभयो। प्रमुख अतिथि कालेन्द्र प्रसाद राजबंशीले ताराबनाका युवाहरूले देखाएको जोश र उत्साहको प्रशंसा गर्दै गाउँपालिकाले आगामी दिनमा यस्ता गतिविधिहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले युवाहरूले खेलको आयोजना गर्दा गाउँपालिकासँग सहयोग नमागेकोमा केही गुनासोसमेत गर्नुभयो। उहाँले भविष्यमा गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग पुर्याइने घोषणा गर्नुभयो।