बिर्तामोड । बिर्तामोडस्थित वीरता लेडी जेसीजमा नयाँ नेतृत्व चयनसँगै विवाद उत्कर्षमा आएको छ । आफू पक्षीय नेतृत्व स्थापित गर्न पछिल्लो समय लेडी जेसीजलाई गिजोल्न थालिएको छ । झापाकै नमूना सामाजिक संस्थाको रुपमा स्थापित वीरता लेडी जेसीजलाई पछिल्लो केही वर्षदेखि विवादबाट मुक्त गराउन नसकेको देखिएको छ ।
सन् २०२५ को नयाँ नेतृत्व चयनसँगै भइरहेका विवादहरु छताछुल्ल भएको छ । नेतृत्वमा आउनेहरु विवादित नभए पनि ल्याउनेहरुका कारण संस्थाको छविमाथि प्रश्न उठ्न थालेको छ । आज सचिवालयमा पत्रकार सम्मेलन नै गरेर अध्यक्ष पदकी प्रत्यासी झुमा चुडालले नवनिर्वाचित पदाधिकारी र निर्वाचन समितिका पदाधिकारीविरुद्ध मुद्धा हाल्ने चेतावनी दिएकी छन् ।
निर्वाचन प्रकृयामा भाग नै नलिएको व्यक्तिका हकमा शून्य मत झरेको भन्ने झुठा व्यहोराको माईन्युट गरी बद्नाम गर्ने प्रयास गरेको भन्दै उनले नवनिर्वाचित पदाधिकारी र निर्वाचन समितिका पदाधिकारीविरुद्ध गाली बेइज्जतीसम्बन्धी कसुरमा कानुनी प्रकृयामा जाने भएकी हुन् ।
चुडालले मुलुकी फौजदारी संहिता २०७४ को गाली बेइज्जती सम्बन्धी कसुरको दफा ३०६ ले उल्लेख गरे बमोजिम अदालतमा मुद्धा हाल्ने जानकारी दिइन् । ऐनमा कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने उल्लेख छ । साथै उनले विधान विपरीत गठन गरिएको वीरता लेडी जेसीजको नयाँ कार्यसमिति खारेजीको मागसमेत गरेकी छन् ।
निर्वाचन प्रक्रिया निष्पक्ष र धाँधलीरहित नभएको भन्दै सदस्य रोजिना पाण्डेले आइतवार नै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइसकेकी छन् । उनी न्यायका लागि सर्वोच्चसम्म समेत जान तयार रहेको बताएकी छन् । मतदाता नामावलीमा आफ्नो नाम नियतवश हटाइएको र त्यस विषयमा कुरा गर्न जाँदा निर्वाचन समितिले अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निर्वाचन प्रक्रिया रोक्न उजुरी दिएकी छन् ।
सदस्यको मागलाई वेवास्था गर्दै निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाएको उनीहरुको आरोप छ । निर्वाचन समितिको अधिकृतमा संगिता गिरी रहेकी थिइन् भने सदस्यहरुमा संगिता चिमरिया र सरु भुर्तेल खनाल रहेका थिए । चिमरिया अध्यक्ष बन्ने वर्ष पनि गिरीसँग विवाद चुलिएको थियो ।
सो समितिले वीरता लेडी जेसीजको सन् २०२५ को अध्यक्षमा निशा शाक्य निर्वाचित भएको घोषणा गरेको छ ।