कनकाई।झापाको कनकाई माई मेला यसपटक माघे सङ्क्रान्तिको मेला आज बाट शुरु भएको छ ।
प्रत्येक वर्ष माघे सङ्क्रान्तिको अवसरमा शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको बीच भएर बग्ने माईखोलाको दुबै पट्टी लाग्दै आएको माई मेला यसपटक पनि भब्य रूपमा लागिरहेको छ ।
वर्षेनी माईमेलामा तीन लाखभन्दा बढी भक्तजन तथा दर्शकहरु आउने गरेका छन् ।
माई मेलामा आएर मकर नुहाई पूजा, आरधना गरेमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ । कनकाई नदीलाई भगवती माईदेवीका रुपमा मान्ने गरिएको छ । भगवती माईदेवीमा स्नान गरेपछि मनोकांक्षा पुरा हुने स्थानिय बताउँछन् ।
नेपाल लगायत छिमेकी मुलुक भारतबाट समेत मकर स्नानका लागि आउनेहरुको संख्या उल्लेख्य हुने गरेको छ ।
झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ्ग लगायत भारतको सिलिगुडी, सिक्किम, दार्जिलिङ्ग, असाम, मणिपुर लगायत भुटानबाट समेत मेलामा भक्तजन आउने गरेका छन् ।
कनकाई माई इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ ।
यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्र् भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट बगेकोछ ।
पूर्वको पवित्र धार्मीक तथा पर्यटकिय क्षेत्रको रुपमा चर्चित कनकाई माईमा प्रत्येक बर्ष माघे सङ्क्रान्तिको अवसरमा लाखौं भक्तजनहरुले पुजा गर्न र मेला भर्न आउने गर्दछन् ।
यो वर्ष माईमेलामा तीर्थयात्रीको भिड उल्लेख्य लाग्ने अनुमान आयोजकले गरेको छ ।यो वर्षपनि माई मेलामा रोटेपिङ, विभिन्न खेल तमासा, ब्रेकडान्स, बटर फ्लाई, कोलम्बस, विभिन्न जातजातीका झाँकी, कला साहित्यका विविधि कार्यक्रम आयोजना हुने कनकाई माई मेला मुल आयोजक समितिले बताएको छ ।