कचनकवल। कचनकवल ७ स्थित बालुबाडी स्वास्थ्य चौकीमा एच.पी.भी खोप अभियान २०८१ अन्तर्गत वडास्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। उक्त कार्यक्रममा खोप अभियानलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र व्यवस्थापनका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको उद्घाटन वडा अध्यक्ष तथा खोप संयोजक भरत राजबंशीले गर्नुभएको थियो। प्रमुख अतिथि स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हरि सिग्देलले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै खोप अभियानलाई सफल बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रम सञ्चालन बालुबाडी स्वास्थ्य चौकीका इन्चार्ज डाक्टर हर्क गुरुङले गर्नुभएको थियो। वडा अध्यक्ष भरत राजबंशीले आफ्नो सम्बोधनमा खोप अभियानलाई प्रभावकारी बनाउने कार्यमा वडास्तरीय समन्वय समितिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २२ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ ।
पन्ध्र दिनसम्म चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने छ।
नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरूद्ध खोप लगाउनुपर्ने हुन्छ ।
उक्त कार्यक्रममा खोप अभियानसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराउनुका साथै खोप अभियानलाई प्रभावकारी बनाउन रणनीतिहरूको समेत चर्चा गरिएको थियो।