बुद्धशान्ति, माघ ११।
बुद्धशान्तिमा जारी दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिकाले दमक नगरपालिकालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै शानदार शुरुआत गरेको छ। यस जितसँगै भद्रपुर नगरपालिकाले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
आजको खेलमा प्रतिकूल मौसमका कारण २० ओभरको खेललाई छोट्याएर १०-१० ओभरमा झारिएको थियो।
टस हारेर पहिलो ब्याटिङमा उत्रिएको दमक नगरपालिकाले १० ओभरमा ६ विकेट गुमाउँदै ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। दमकका लागि संगम बुढाथोकीले १६ बलमा २५ रन बनाएका थिए भने सचिन श्रेष्ठले १८ बलमा २० रनको योगदान दिए। अन्य खेलाडीले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन्। भद्रपुरका बलर प्रवेश कामतीले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा ९ रन खर्चिएर २ विकेट लिए।
जवाफी ब्याटिङमा भद्रपुर नगरपालिका झन् उत्कृष्ट देखियो। निखिल पौडेलको विस्फोटक ब्याटिङको मद्दतले भद्रपुरले मात्र ४.४ ओभरमा नै बिना कुनै विकेट गुमाई ७५ रनको लक्ष्य हासिल गर्यो। निखिलले १९ बलमा ५४ रन बनाएका थिए।
उत्कृष्ट प्रदर्शनका लागि भद्रपुरका निखिल पौडेल खेलको प्लेयर अफ दि म्याच घोषित भए। उनले नगद ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।
भोलि बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ भने अर्को खेलमा कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकासँग खेल्नेछ। खेल बुद्धशान्ति-३ स्थित पेट्रोल पम्प नजिकैको मैदानमा हुनेछ।
प्रतियोगितामा झापाका १५ वटै पालिकाको सहभागिता रहेको जानकारी बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले दिए। उनले प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, र प्रमाणपत्र प्राप्त गर्ने बताए भने उपविजेताले नगद ७५ हजारसहित मेडल, ट्रफी, र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगिताको उद्घाटन बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंको अध्यक्षतामा सम्पन्न भएको थियो। बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं प्रमुख अतिथि थिए भने उपाध्यक्ष भवानी प्रसाद खतिवडा विशिष्ट अतिथि रहेका थिए। गाउँपालिका अध्यक्ष प्रसाईं र उपाध्यक्ष खतिवडाले संयुक्त रूपमा ब्याटिङ र बलिङ गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरे।
कार्यक्रममा आयोजक बर्खा स्मृति प्रतिष्ठानका सचिव मदन मगरले अतिथिहरूलाई स्वागत गरेका थिए। प्रतियोगिता बुद्धशान्ति-३ स्थित पेट्रोल पम्प पश्चिमको मैदानमा सञ्चालन भइरहेको छ।