झापा। पाठेघरको मुखको क्यान्सर रोग विरूद्व एच.पी.भी. खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम हल्दीबारी गाउँपालिकामा सम्पन्न भएको छ ।
कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरू र विधालय नजाने भएमा १० देखि १४ वर्ष सम्मका १८ सय ६ जना किशोरीहरूलाई यहि माघ २२ गतेवाट २७ गते सम्म खोप अभियान संचालन हुनेछ।
हल्दीबारी गाउँपालिकाका २१ वटा विधालय र ६ वटा स्वास्थ्य संस्थामा खोप केन्द्र रहनेछन् भने विधालय बाहिर भएकालाई समुदाय मै पुगेर खोप लगाउने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक प्रकास खतिवडाले जानकारी दिएका छन्।
पाठेघरको क्यान्सरको जोखिम न्युनीकरण गर्न किशोरीहरूलाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय झापाका राजकुमार पोखरेलले जानकारी दिएका थिए। अव प्रत्येक वर्ष अभियान कै रूपमा खोप कार्यक्रम संचालन गर्ने तयारी भइरहेको पनि स्वास्थ्य कार्यालयले जानकारी गराएको थियो।
पाठेघरको मुखको क्यान्सर महिलाहरूलाई लाग्ने क्यान्सरमा विश्वमा चौथो तथा नेपालमा दोस्रो स्थानमा पर्ने तथ्याङ्क रहेको छ भने पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने क्यान्सर पहिलो नम्बरमा छ।
यो रोगको लक्षणहरूमा तल्लो पेट दुख्ने,योनीबाट गन्हाउने पानी बग्ने,अनियमित रूपमा रगत बग्ने,कमजोरी महशुष हुने,रक्तअल्पता हुने लगायत रहेका छन्।
सन २०३० सम्ममा यो रोग निवारण गर्ने लक्ष्य सरकारले लिएको छ भने यस वर्ष लक्षित वर्गका ९० प्रतिशत किशोरीहरूलाई खोप लगाउने लक्ष्य लिएको छ।कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , वडा नं १का वडा अध्यक्ष देवीबहादुर थापा, वडा नं ३ का वडा अध्यक्ष विष्णु ओली, वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा सहित कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका शाखा प्रमुखहरु, स्वास्थ्यकर्मीहरू लगायत को उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले स्वास्थ्य जस्तो संवेदनशील विषय भएकाले लक्षित वर्गका कोही पनि किशोरीहरू छुटन नहुने भन्दै स्वास्थ्यकर्मीहरूलाई तदारुकता साथ खोप अभियान सफल पार्न निर्देशन दिएका थिए।