नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ कचनकवलको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अघनलाल राजबंशीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। यसअघि गठित तदर्थ समिति विघटन गरी नयाँ कार्यसमिति चयन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि कचनकवल गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेस झापाका जिल्ला सह–सचिव कालेन्द्र प्रसाद राजबंशीले ब्यानर वाचन गरी अधिवेशनको उद्घाटन गरेका थिए। विशेष अतिथिका रूपमा नेपाल किसान महासंघका केन्द्रीय सदस्य झमक खड्का उपस्थित थिए। कार्यक्रममा नेपाली कांग्रेस कचनकवल गाउँपालिका सभापति तुलाराम अधिकारी, क्षेत्रीय सदस्यहरू हरि सिग्देल र ७ नम्बर वडाका वडाध्यक्ष भरत राजबंशी अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा स्वागत मन्तव्य तारानिधि प्याकुरेलले राखेका थिए भने प्रकाश तुलाराम अधिकारीले कार्यक्रममाथि प्रकाश पारेका थिए। संगठनको विषयमा केन्द्रीय सदस्य झमक खड्काले सम्बोधन गरेका थिए।
प्रमुख अतिथि राजबंशीले किसानहरूले भोग्दै आएका समस्याबारे चर्चा गर्दै अबका दिनमा किसानहरूले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराएका थिए। साथै, आफू सधैँ किसानका मागहरूको पक्षमा रहेको बताउँदै सरकारले किसानहरूको लागि ठूलो बजेट विनियोजन गरी विभिन्न कार्यक्रम अघि बढाइरहेको जानकारी गराए।
यस अधिवेशनबाट अघनलाल राजबंशी अध्यक्ष, रामप्रसाद राजबंशी र पञ्चम गणेश उपाध्यक्ष, पूर्ण@सिंह राजबंशी र जगनाथ राजबंशी सचिव, पवनलाल राजबंशी सहसचिव, गंगा अधिकारी कोषाध्यक्ष, तोरपाल राजबंशी, भक्ति प्रसाद बिष्ट, सञ्जीव कुमार यादव, अमर बहादुर गणेश, तफेजुल मिया, बलवती राजबंशी, र सन्तोष कुमार गणेश सदस्य चयन भएका छन्।
कार्यक्रमको सञ्चालन रमेश पौड्यालले गरेका थिए भने कार्यक्रमको अध्यक्षता रमला बिष्टले गरेकी थिइन्। यस अधिवेशनले किसानहरूको हक, अधिकार र संगठनात्मक सशक्तीकरणका विषयमा महत्त्वपूर्ण छलफल गर्दै नयाँ नेतृत्व चयन गरेको छ।