काठमाडौं । नेपाल स्काउटको प्रमुख आयुक्तमा देवराज घिमिरे नियुक्त हुनुभएको छ ।

युवा तथा खेलकुद मन्त्री एवम् प्रमुख स्काउट तेजुलाल चौधरीले घिमिरेलाई प्रमुख आयुक्त नियुक्त गर्नुभएको हो । घिमिरेसँग लामो समय राष्ट्रिय तथा अन्तराष्ट्रिय स्काउटको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ ।
मन्त्री चौधरीले निवर्तमान प्रमुख आयुक्त महेन्द्रराज रञ्जितलाई हटाउँदै घिमिरेलाई प्रमुख आयुक्त बनाउनुभएको हो । रञ्जितमाथि विभिन्न विवाद सिर्जना गरेको तथा गैरकानुनी रूपमा नियुक्ति लिएर संस्था बिगारेको आरोप थियो ।
राष्ट्रिय सतर्कता केन्द्रले पनि रञ्जितको नियुक्ति कानुन सम्मत नभएको भन्दै नियुक्ति बदर गर्दै नयाँ व्यक्ति नियुक्त गर्न मन्त्री चौधरीलाई निर्देशन दिएको थियो । सोही निर्देशन पश्चात् मन्त्री चौधरीले मन्त्री स्तरीय निर्णयबाट घिमिरेलाई नयाँ प्रमुख आयुक्त नियुक्त गर्नुभएको हो । घिमिरेसँगै मन्त्री चौधरी अन्य सात जानालाई राष्ट्रिय कार्यकारी समितिमा नियुक्त गर्नुभएको छ । नियुक्त हुनेमा इन्दु सुबेदी, कमलबहादुर देउजा, भुवन सुब्बा, सन्तोषकुमार थापा, स्मृति बराल, जहरसिंह थापा र सुस्मिता श्रेष्ठ हुनुहुन्छ ।
यो नियुक्तिसँगै नेपाल स्काउटमा बढेको विवाद र उत्पन्न समस्या समाधान हुनेमा विश्वास लिइएको छ ।



















