काठमाडौं । वायु सेवा संचालकहरुको छाता संगठन एयरलाइन्स अप्रेसन एसोसिएसन (एओन) ले युरोपेली जहाज आयातमा नागरिक उड्यान प्राधिकरणले प्रतिबन्ध लगाएको भन्ने समाचरप्रति गम्भीर आपत्ति जनाएको छ । बिहीबार एकाएक सञ्चार माध्यमहरुमा ईयूले नेपाललाई कालो सूचिबाट नहटाएपछि प्राधिकरणले बदलामा युरोपमा बनेका जहाज तथा हेलिकप्टरलाई नेपाल प्रवेशमा रोक लगाएको भन्ने समाचार आएका थिए ।
यसलगत्तै शुक्रबार प्राधिकरणको महानिर्देशकसहित पदाधिकारी तथा हवाई सेवा प्रदायक कम्पनीहरुसँग बसेको एओनको बैठकले उक्त समाचारहरु प्रति आपत्ति जनाउँदै वातावरण सहज रुपमा अघि बढिरहेको जनाएको हो ।
नेपाली बजारमा ९० प्रतिशत भन्दा बढी बजार हिस्सा युरोपेली वायुयानहरुको हुनुका साथै जहाज, पार्टपुर्जा तथा तालिमबापत वार्षिक अर्बौ रुपैयाँ युरोपियन कम्पनीहरुसँग कारोवार भई रहेको जनाउँदै एओनले गलत हल्ला नगर्न र हल्लाको पछि नलाग्न समेत सबैमा आग्रह गरेको छ ।
‘यूरोपियन यूनियन (ईयू) ले नेपाली हवाई सेवालाई सन् २०१३ देखि सेफ्टी लिस्टमा राखे पश्चात संघका सदस्य वायुसेवा कम्पनीहरुले अहोरात्र खटी नेपाल नागरिक उड्डयन प्राधिकरणको सुरक्षा मापदण्डले निर्दिष्ट गरे अनुसारको कार्य गरी विभिन्न चरणहरु पार गरेतापनि हालसम्म उक्त लिस्टबाट हट्न नसकेको हुदाँ नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सदस्य वायुसेवा कम्पनीहरु तथा अन्य सरोकार निकायहरु यस सम्बन्धमा तदारुक्ताका साथ लागि परि नै रहेको व्यहोरा समेत जानकारी गराउदछौ ।’
एओनले विज्ञप्तिमार्फत भनेको छ, ‘आज फागुन ९ गते नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकज्यू तथा सदस्य वायुसेवा कम्पनीका पदाधिकारीहरुको उपस्थितिमा सेफ्टी लिस्टबाट हटाउनका सम्बन्धमा गहन छलफल भएको, तत् पश्चात हामीले गरेको कामको उचित मुल्याकंन गर्दै युरोपियन यूनियनको हेडक्वाटर ब्रुसेल्समा बस्ने सेफ्टी कमिटिको आगामी बैठकले अवश्य पनि कालो सूचिबाट हटाउछ भन्ने नेपाल सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा संघले पूर्ण विश्वास लिएको छ ।’
‘अथक प्रयासको बाबजुद पनि युरोपियन यूनियनको सेफ्टी लिस्टले निरन्तरता पाएको खण्डमा नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले हालको विद्यमान नियमहरुमा समय साक्षेप परिवर्तन गरी नेपालको भौगोलिक सुहाउँदो आवश्यक वायुयानहरुको उचित पहिचान गरी वायुयान खरिद, मर्मत तथा एभियसन प्रोडक्टका लागि वैकल्पिक बजारहरुको हिस्सा विस्तार गरी नेपाली हवाई सेवा उद्योगहरुको दीर्घकालीन स्थिरता र वृद्धिको लागि महत्वपूर्ण भूमिका खेली उड्डयन क्षेत्रलाई जोगाउन नेपाल सरकार गम्भिर भई उचित कदम चाल्न समेत सबै वायुसेवा कम्पनीहरु प्रतिवद्ध रहेको छ’ एओनले भनेको छ ।