बिर्तामोड । सवारी दुर्घटनामा घाइते भएका पत्रकार सुरज प्रधानलाई झापाका विभिन्न पत्रकार संगठनहरूले सहयोग प्रदान गरेका छन्।
प्रेस चौतारी नेपाल झापा शाखा, अर्जुनधारा प्रेस क्लब र बुद्धशान्ति प्रेस क्लबले प्रधानको उपचारका लागि आर्थिक सहायता उपलब्ध गराएका हुन्।
प्रेस चौतारी झापाले आफ्ना सदस्यहरूबाट संकलन गरिएको ३० हजार १२० रुपैयाँ घाइते पत्रकार प्रधानलाई प्रदान गरेको छ। सहयोग हस्तान्तरण गर्दै प्रेस चौतारी झापाकी उपाध्यक्ष सुनिरा मैनालीले प्रधानको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रधान हाल बिर्तासिटी हस्पिटलमा उपचाररत छन्। सहयोग हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यद्वय भीमा सिवाकोटी र गोपाल काफले, साथै पत्रकार महासंघ झापाका सहसचिव रमेश तिवारी समेत उपस्थित हुनुहुन्थ्यो।
यस्तै, बुद्धशान्ति प्रेस क्लबले ८ हजार ५०० रुपैयाँ र अर्जुनधारा प्रेस क्लबले १८ हजार ६०० रुपैयाँ प्रदान गरेका छन्।
बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिना, पूर्वअध्यक्ष आयुष निरौला तथा अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष प्रेम आचार्य र तिलक योन्जनले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो।