झापा जिल्लामा बाल विवाह रोकथाम अझै चुनौतीपूर्ण देखिएको छ। प्रहरीले विवाह रोक्न प्रयास गर्दा पनि अन्ततः उमेर नपुगेका एक जोडीले विवाह गरेरै छाडेको हालैको घटना झापा गाउँपालिकामा घटेको छ।
गत फागुन १८ गते राति, झापा गाउँपालिका-५ राधाबस्तीका रंगलाल गणेश र तुलसी गणेशकी १६ वर्षीया छोरी सन्ध्याकुमारी गणेश र झापा गाउँपालिका-३ रुहीमारी बस्ने मनुलाल गणेश र सावित्री गणेशका १८ वर्षीय छोरा किरण गणेशको विवाहको तयारी भइरहेको थियो। सन्ध्याको जन्ममिति २०६५ कात्तिक १० गते र किरणको २०६२ चैत १५ गते हो।
बाल विवाहको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी शरणामतीका प्रहरी पनि घटनास्थल पुगेका थिए। प्रहरीले विवाह रोक्न आग्रह गरेपछि बेहुलीका अभिभावकहरू आक्रोशित बनेका थिए। प्रहरी हस्तक्षेपका कारण साँझ ६ बजेदेखि राति १ बजेसम्म विवाह हुन सकेन। बेहुलीको घरमा प्रहरी उपस्थित भएकाले जन्ती आउन पाएनन्। प्रहरी र स्थानीय जनप्रतिनिधिहरूले दुबै पक्षलाई सम्झाउने प्रयास गरे।
तर, बेहुलीका बाबुले छोरीले कुनै अप्रिय घटना गराए त्यसको जिम्मेवारी प्रहरीले लिनुपर्ने चेतावनी दिएका थिए। साथै, विवाह रोक्ने हो भने बेहुला-पक्षले गरेको खर्चसमेत बेहोर्नुपर्ने मागसमेत गरेका थिए। राति १ बजेसम्म प्रहरी बसेर विवाह रोकिए पनि, प्रहरी हटेपछि सोही रात सन्ध्या र किरण भागी विवाह गरे।
एक प्रहरी अधिकृतका अनुसार, प्रहरीले सम्झाउँदा पनि बाल विवाह रोक्न नमान्ने अभिभावकहरू पछि समस्या पर्दा प्रहरीकै शरणमा आउने गरेका छन्। उनले शिक्षा र चेतनाको अभावका कारण बाल विवाहको परम्परा कायमै रहेको बताए। भागेर विवाह गर्ने सन्ध्या र किरण दुवै विद्यालय तहका विद्यार्थी हुन्।
नेपालको कानुनी व्यवस्थाअनुसार, २० वर्ष उमेर नपुगी गरिने विवाह स्वतः बदर हुन्छ। साथै, बाल विवाह गराउने वा गर्ने जो-कोहीलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। बालबालिकासम्बन्धी ऐन, २०७५ को उपदफा ६६ (२०) (ण) अनुसार, बाल विवाह बालबालिकाविरुद्धको कसुर मानिन्छ। त्यस्तै, ऐनको दफा ६७ अनुसार, यस्तो कसुर गर्ने व्यक्तिहरूले दस वर्षसम्म कुनै सार्वजनिक वा निजी क्षेत्रमा काम गर्न पाउँदैनन्।
नेपालमा बाल विवाहको अवस्था र असर
नेपाल बाल विवाह दर उच्च भएका देशहरूमध्ये अग्रपङ्क्तिमा छ। दक्षिण एसियामा नेपाल, बंगलादेश र भारतपछि तेस्रो स्थानमा पर्छ। अध्ययनहरूले देखाएका छन् कि बालकको तुलनामा बढी संख्यामा बालिकाहरूको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ। यसको प्रमुख कारणहरूमा लैङ्गिक विभेद, गरिबी, अशिक्षा, असुरक्षा, र सामाजिक-सांस्कृतिक मान्यताहरू रहेका छन्।
बाल विवाहले बालबालिकालाई आधारभूत अधिकारबाट वञ्चित गर्छ। उनीहरूको भविष्य निर्माणमा प्रभाव पार्नुका साथै निर्णय प्रक्रियामा सहभागी हुने अवसरसमेत खोसिन्छ। विशेष गरी बालिकाहरूको हकमा बाल विवाहले विभिन्न प्रकारका हिंसा निम्त्याउने मात्र होइन, जीवनभर अधिकार हननको शृङ्खला सुरु गराउँछ।
बाल विवाहका असरहरू:
- वैवाहिक जीवन दिगो नहुने सम्भावना बढ्छ।
- परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्छ।
- लैङ्गिक तथा यौनजन्य हिंसा बढ्न सक्छ।
- बालश्रम, बेचबिखन जस्ता अपराधहरूमा वृद्धि हुन सक्छ।
- महिलाहरूको सामाजिक सहभागिता घट्छ, जसले समाजको विकासमा बाधा पुर्याउँछ।
यसरी, समाजमा चेतना अभिवृद्धि नगरेसम्म र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएसम्म बाल विवाह रोकथाममा चुनौती कायमै रहने देखिन्छ।