- आयुष निरौला। बुद्धशान्ति। चैत ३
कार्य सम्पादनको आधारमा इलाम जिल्लाकै पहिलो भएको श्री चुल्ठे सामुदायिक बन बुद्धशान्ति ५,६ र रोङ ५ इलामले सामुदायिक बनलाई पर्या पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्नका लागि कमेरे माउन्टेनलाई बनभोज स्थल बनाउने योजना निर्माणको काम अगाडि बडाएको छ ।
पर्यापर्यटनको प्रसस्त सम्भावना देखिएकाले बदलिँदो परिस्थितीलाई मध्येनजर गरेर कमेरे माउन्टेनको वरिपरिको भागमा गोलघर, महिला/पुरुष शौचालय निर्माण र खानेपानी साथै बिजुलिबत्तीको काम भईरहेको चुल्ठे सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष प्रदिप देव खतिवडा (सुजन) ले बताउनु भयो । अध्यक्ष खतिवडाका अनुसार बन समितीको बिशेष पहल र कोशी प्रदेशको पुर्ब बन तथा पर्यापर्यटन राज्यमन्त्री अनिसा झागरको समन्वयमा मन्त्रालयको २० लाख रुपैयाँको आर्थिक सहयोगमा प्रदेशबाटै ठेक्का लागि काम धमाधम भैरहेको छ ।

पर्यापर्यटनको गन्तव्यको रुपमा बिकास गर्न सके प्रसस्त पर्यटक तान्न सकिने र त्यसका माध्यमबाट स्थानियको जिवनस्तर उकास्न, ब्यावसायिलाई आकर्षक गर्ने र मुलुकको आर्थिक बिकासमा योगदान गर्न सकिने भएकाले सौन्दर्य प्रवद्र्धन अवधारणा, व्यबसायिक व्यबस्थापन, प्रकृतिमैत्री संरचना, सेवाको विविधिकरण, जैविक विविधता संरक्षण, समन्वय तथा सहकार्यको अंगिकार गरी विभिन्न निर्माणको काम भईरहेको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।
उक्त बन समितिले रैथाने बनस्पतिहरुको बृहत बृक्षारोपण, संरक्षण, सम्बर्धन र त्यस सम्बन्धि शिक्षा, जनचेतना फैलाउने कामहरु निरन्तर गरिरहेको छ ।