झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ बिहीबारदेखि देशभर सुरु हुँदैछ। झापामा ५७ परीक्षा केन्द्रबाट १७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई झापाले परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। बुधबार सार्वजनिक गरिएको सूचनामा परीक्षालाई मर्यादित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरिएको छ।
इकाइले परीक्षा अवधिभर अनुगमनका नाममा भीडभाड नगर्न, परीक्षा हलभित्रको फोटो तथा भिडियो नखिच्न र अनाधिकृत व्यक्तिलाई प्रवेश निषेध गर्न विशेष अनुरोध गरेको छ। साथै, परीक्षार्थीले मोबाइल फोन, स्मार्ट वाच, वैज्ञानिक क्याल्कुलेटर, ट्याब, हेडफोन तथा अन्य इलेक्ट्रोनिक उपकरण परीक्षा हलमा लैजान नपाउने सूचना जारी गरिएको छ।
यस वर्ष झापाबाट १७ हजार २८ परीक्षार्थी सहभागी हुँदैछन्, जसमा छात्रा ८ हजार ७८४ र छात्र ८ हजार २४४ जना रहेका छन्।