युइएफए नेसन्स लिग फुटबलअन्तर्गत दोस्रो लेगमा प्रभावशाली पुनरागमन गर्दै पोर्चुगलले डेनमार्कलाई ५-२ ले पराजित गरेको छ। समग्रमा ५-३ को जित निकाल्दै पोर्चुगल सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो।
पहिलो लेगमा १-० ले पछि परेको पोर्चुगलले आइतबार राति भएको खेलमा निर्धारित ९० मिनेटसम्म ३-२ को अग्रता बनाएर समग्रमा ३-३ को बराबरीमा पुगेको थियो। अतिरिक्त समयमा थप २ गोल गर्दै घरेलु समर्थकलाई खुसी बनायो।
पोर्चुगलको जितमा फ्रान्सिस्को ट्रिनकाओले २ गोल गर्दा क्रिस्टियानो रोनाल्डो, गोन्सालो रामोसले १-१ गोल गरे। त्यस्तै, एक गोल डेनमार्कका जोएकिम एन्डरसनको आत्मघाती गोलबाट प्राप्त भएको थियो। डेनमार्कका लागि रासमस क्रिस्टेनसेन र क्रिस्चियन एरिक्सनले १-१ गोल गरे।
खेलको ३८औं मिनेटमा एन्डरसनको आत्मघाती गोलले पोर्चुगललाई अग्रता दिलाए पनि डेनमार्कले ५६औं मिनेटमा क्रिस्टेनसेनको गोलमार्फत बराबरी गर्यो। ७२औं मिनेटमा रोनाल्डोले गोल गर्दै पुनः पोर्चुगललाई अगाडि ल्याए। तर, ७६औं मिनेटमा एरिक्सनले गोल गरेपछि डेनमार्क समग्रमा अग्रता लिन सफल भयो।
८६औं मिनेटमा ट्रिनकाओले गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेले। थपिएको ३० मिनेटको खेलमा पोर्चुगल हावी रह्यो। ९१औं मिनेटमा ट्रिनकाओले दोस्रो गोल गरे भने ११५औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगलको सेमिफाइनल यात्रा सुनिश्चित गरे।