झापा – चालु आर्थिक वर्षको फागुनसम्म झापामा ७०० जना नयाँ क्षयरोगी फेला परेका छन्। स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार सोही अवधिमा २५ बिरामीको मृत्यु भएको छ। गत आर्थिक वर्षमा क्षयरोगका कारण ४८ जनाले ज्यान गुमाएका थिए।
कार्यालयका तथ्यांकअनुसार फोक्सोमा क्षयरोग देखिएका बिरामी ४७१ जना छन् भने फोक्सोबाहेकका १६२ जना छन्। यसैगरी, टिबी र एचआइभी दुवै सङ्क्रमित आठ जना, औषधि प्रतिरोधी क्षयरोग (डिआरटीबी) भएका बिरामी १६ जना रहेका छन्।
अघिल्ला वर्षहरूमा झापामा क्षयरोगीको सङ्ख्या क्रमशः बढ्दै गएको छ। आव २०७७/७८ मा ९९२ जना, २०७८/७९ मा १,१८६ जना, २०७९/८० मा १,१६५ जना तथा चालु आर्थिक वर्षमा हालसम्म १,२६५ जना नयाँ बिरामी फेला परेका छन्।
झापाका १५ वटा स्थानीय तहअन्तर्गतका ७९ स्वास्थ्य संस्थामा क्षयरोग उपचारको निःशुल्क सेवा उपलब्ध छ। यसका लागि २२ वटा माइक्रोस्कोपिक केन्द्र, तीन जिनएक्सपर्ट केन्द्र तथा डिआरटीबी बिरामीको उपचारका लागि चार सब-डिआर सेन्टर सञ्चालनमा छन्। साथै, औषधि सेवनको अवधि पूरा गर्ने विपन्न बिरामीलाई मासिक रु ५०० प्रोत्साहन रकम प्रदान गरिँदै आएको छ।
सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत झापाका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको छ। ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने नारासहित आज विश्वभर विश्व क्षयरोग दिवस मनाइँदै छ। नेपाल सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य राखेको छ।