काठमाडौं । इस्लाम धर्मको केन्द्र मानिने साउदी अरेबियाले भारत, पाकिस्तानसहित १४ देशका नागरिकका लागि अस्थायी रूपमा भिसा प्रतिबन्ध लगाएको छ। साउदी सरकारले उक्त प्रतिबन्ध व्यापार, पारिवारिक तथा उमराह भिसामा समेत लागू हुने जनाएको छ।
क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी सरकारले दर्ता नभई हजमा सहभागी हुने तीर्थयात्रीलाई रोक्न यो कदम चालेको हो। प्रतिबन्ध यस वर्षको हज सम्पन्न नभएसम्म, अर्थात् आगामी जुन महिनासम्म लागू हुनेछ। त्यसपछि भने भिसा प्रक्रिया पुनः सामान्य रूपमा सञ्चालनमा आउनेछ।
साउदी अधिकारीहरूका अनुसार उमराह भिसा अप्रिल १३ सम्म मात्र जारी हुनेछ। यस मितिसम्म विदेशी तीर्थयात्रीहरू उमराहका लागि प्रवेश गर्न पाउनेछन्। त्यसपछि उमराह भिसा अस्थायी रूपमा बन्द हुनेछ।
गत वर्ष हजको क्रममा भीड व्यवस्थापनमा चुक्दा एक हजारभन्दा बढी तीर्थयात्रीको मृत्यु भएको थियो। मृत्यु हुनेमध्ये धेरैजसो अनधिकृत तीर्थयात्री रहेको रिपोर्ट सार्वजनिक भएपछि साउदी सरकारले यस वर्षको लागि सुरक्षालाई प्राथमिकता दिँदै भिसा नीतिमा कडाइ गरेको हो।
भिसा प्रतिबन्ध लगाइएका देशहरूमा भारत, पाकिस्तान, बंगलादेश, इजिप्ट, इन्डोनेसिया, नाइजेरिया, इराक, जोर्डन, अल्जेरिया, सुडान, इथियोपिया, ट्युनिसिया र यमन रहेका छन्।
साउदी अरबको विदेश मन्त्रालयका अनुसार, यो अस्थायी भिसा प्रतिबन्ध हजको समयमा तीर्थयात्रीहरूको सुरक्षालाई सुदृढ बनाउने र यात्रालाई व्यवस्थित बनाउनका लागि गरिएको हो।