काठमाडौं—
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७६औँ स्थापना दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। सन् १९४९ अप्रिल २२ (वि.सं. २००६ वैशाख ९) मा भारतको कोलकातास्थित श्यामबजारको एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो।
पार्टीका संस्थापक महासचिव पुष्पलालसँगै नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक नेताका रूपमा रहेका थिए। यद्यपि, मोतीदेवी श्रेष्ठ शारीरिक रूपमा उपस्थित थिइनन्।
कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत सङ्घमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिष्ट आन्दोलनको औपचारिक यात्रा सुरु भएको हो। जहानियाँ राणा शासनको बेलामा भूमिगत रूपमा सुरु भएको कम्युनिष्ट आन्दोलनले नेपाली जनता र राष्ट्रलाई शोषण तथा उत्पीडनबाट मुक्त गर्ने उद्देश्य लिएको थियो।
हाल नेपालमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (माले)लगायतका दलहरू क्रियाशील छन्। २०७५ साल जेठमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लामो समय टिक्न सकेन।
स्थापना दिवसका अवसरमा आज नेकपा (एमाले)ले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १२ः३० बजे विशेष कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान दिएका सात विशिष्ट व्यक्तित्वलाई ‘कम्युनिष्ट योद्धा’का रूपमा सम्मान गरिने र ‘सेल्टर’ नामक पुस्तक सार्वजनिक गरिने एमालेले जनाएको छ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत दलले पनि स्थापना दिवस विविध कार्यक्रममार्फत मनाउँदै छन्।