झापा — झापाको बुद्धशान्तिमा जारी एनफा रेफ्री स्व. लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगितामा ध्रुवतारा स्पोर्टिङ क्लब दमक सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा धुलाबारी फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ को गोलअन्तरले पराजित गर्दै ध्रुवतारा सेमिफाइनलमा पुगेको हो। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
ध्रुवतारा स्पोर्टिङ क्लबका गोलरक्षक आयुस लिम्बु खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनले पुरस्कार स्वरूप नगद १५०० रुपैयाँ प्राप्त गरे।
स्व. लोकराज ढुंगानाको सम्झनामा आयोजना गरिएको प्रतियोगितामा उनले बुद्धशान्ति क्षेत्र र खेलकुद क्षेत्रमा पुर्याएको अतुलनीय योगदानलाई स्मरण गरिएको आयोजक क्लबले जनाएको छ। ढुंगाना आदर्श युवा क्लबका पूर्व अध्यक्ष तथा कोशी प्रदेश फुटबल रेफ्री संघका सदस्य थिए।
प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल राजगढ फुटबल क्लब र शिवसताक्षी फुटबल क्लबबीच हुनेछ। प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।