मातातीर्थ औंसीको महत्व

“मातृदेवो भव। पितृदेवो भव। आचार्यदेवो भव।”
“जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी।”
“कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति।”

यी संस्कृत श्लोकहरूले आमाको महिमा र सम्मानलाई सर्वोपरि स्थानमा राखेका छन्। वैशाख कृष्णपक्षको औंसी तिथिमा मनाइने “मातातिर्थ औंसी” मातृत्वको पूजा, श्रद्धा र कृतज्ञताको दिन हो। यस दिनलाई आमाको मुख हेर्ने दिन भनेर पनि चिनिन्छ।
शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थान दिइएको पाइन्छ। यस अवसरमा छोराछोरीहरूले आमालाई मिठा परिकार, राम्रो लुगा तथा अन्य उपहारहरू दिई आमाबाट शुभ आशीर्वाद ग्रहण गर्ने परम्परा छ।
आमा शब्द आफैंमा अतुलनीय छ। आमा भन्ने बित्तिकै हरेकको हृदयमा ममता, वात्सल्य र श्रद्धाको झल्को आउँछ।
हाम्रो मौलिक संस्कृतिमा हरेक चाडपर्वको विशेष वैज्ञानिक, सांस्कृतिक र व्यवहारिक महत्व छ। यिनैमध्ये एक महत्वपूर्ण पर्व हो — मातातिर्थ औंसी, जसमा आमालाई प्रत्यक्ष भगवानको स्वरूप मानेर पूजिन्छ।
आमा सृष्टिकर्ता हुन्। गर्भमा नौ महिना राखेर असह्य पीडा सहँदै सन्तानलाई जन्म दिने, हुर्काउने, शिक्षित बनाउने आमाको ऋण कुनै शब्दले व्यक्त गर्न सकिँदैन। आमा ममताकी खानी, स्नेहकी सागर, वात्सल्यकी आकास हुन्। सन्तानका लागि आमा धर्ती सरह माया, प्रेरणा र करुणाको प्रतिमूर्ति हुन्। आमाको मायाले कहिल्यै सन्तानसँग दुरी राख्दैन। सन्तान जति ठूलो भए पनि, आमाका आँखामा सधैं सानो नै रहन्छ।
प्रत्येक वर्ष वैशाख कृष्णपक्षको अमावस्या तिथिमा मातातीर्थ औंसी मनाइन्छ। जीवित आमालाई दर्शन गरी, मनपर्ने मिठा परिकार, लुगा, फुल आदि चढाई आदर र सम्मान प्रकट गरिन्छ। आमाको निधन भइसकेका सन्तानहरूले भने विभिन्न तीर्थस्थल, विशेषगरी गोकर्ण र मातातीर्थ पुगेर तर्पण, पिण्डदान र श्राद्ध गरी माताको मोक्षगतिको कामना गर्छन्।
जीवित आमा हुनु छोराछोरी र नातिनातिनाका लागि सौभाग्य हो। पूर्वजन्मको पुण्यकै फलस्वरूप मातापिताको सेवा गर्ने अवसर मिल्ने शास्त्रीय मान्यता छ। आमा रहँदा उनको सेवा र सन्तुष्टि प्राप्त गर्नु नै सच्चा धर्म हो।
आजका दिन आमाप्रति समर्पित भएर वहाँको सेवा गरी आशीर्वाद प्राप्त गर्नु हाम्रो कर्तव्य हो। आमा नहुनेहरूले पनि आमाको सम्झनामा तीर्थस्थलमा गएर पूजा, तर्पण, श्राद्ध गर्नु पुण्य कार्य मानिन्छ। यसले मातृऋणबाट मुक्ति र आमाको आत्माको चिरशान्तिका लागि सहयोग पुग्ने विश्वास गरिन्छ।
मातातीर्थ कुण्डको पनि ठूलो धार्मिक महत्व छ। पौराणिक कथनअनुसार यो स्थानमा स्नान गरी श्राद्ध गर्दा दिवंगत माताको आत्मा तृप्त हुने विश्वास छ।
आमा, जसको उच्चारण नै प्रेम र समर्पणले भरिएको हुन्छ, हाम्रा सुखदु:खका साथी हुन्। चेलीबेटीहरू माइतीघर आइआफ्नो आमालाई भेट्ने, परिकार चढाउने चलन यो पर्वसँग जोडिएको छ।
तर, आजका दिन हामीले एउटा गम्भीर विषय पनि स्मरण गर्नुपर्छ — आजभोलि वृद्धावस्थामा आमाबुवालाई एक्लो पार्ने, वृद्धाश्रम पठाउने प्रवृत्ति बढ्दो छ, जुन मानवताको विरोध हो। समय सधैँ एकनास रहँदैन। आफूले आमाबुबाप्रति देखाएको व्यवहार भविष्यमा आफ्नै सन्तानबाट फर्किन सक्छ भन्ने चेतना राख्नुपर्छ।
यसरी, मातातीर्थ औंसी केवल एउटा धार्मिक पर्व होइन, यो आमाप्रति हाम्रो श्रद्धा, प्रेम, दायित्व र आभार व्यक्त गर्ने अवसर हो। जसले हामीलाई जन्म दिनुभयो, स्नेह र ममताले सिँच्नुभयो, तिनै आमाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै सम्पूर्ण आमाहरूलाई सम्मान गर्दछु।
धन्यवाद।

  • कल्पना भट्टराई, केन्द्रीय सदस्य, राष्ट्रिय हिन्दु एकता मञ्च नेपाल
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *