झापा — झापाको भद्रपुरमा पिकअपको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ।
भद्रपुर नगरपालिका–१ पृथ्वीनगरका ३५ वर्षीय दिलीप राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मेची राजमार्गअन्तर्गत बनियानी–भद्रपुर सडक खण्डको भद्रपुर–२ स्थित हिमाली टोलमा भद्रपुरतर्फ आइरहेको बीआर ३७ भी २१२७ नम्बरको मोटरसाइकललाई मे १ च ५४४७ नम्बरको पिकअपले ठक्कर दिएको थियो।
घटनामा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार पिकअप चालक भद्रपुर–३ निवासी ४४ वर्षीय पङ्कज सुवेदीलाई सवारीसाधनसहित नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।