झापा — अधिकांश संस्थागत विद्यालयका शिक्षकहरू सेवानिवृत्त हुँदा कुनै आर्थिक लाभ नपाएर खाली हात विदा हुने गरेका छन्। तर, बिर्तामोड-५ मा रहेको न्यूटन्स एजुकेशन एकेडेमीले भने शिक्षकको भविष्य सुरक्षालाई प्राथमिकता दिँदै उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
हालै २१ वर्ष सेवा गरेर स्वेच्छिक अवकाश लिएकी शिक्षिका मिनु शिवाकोटीले करिब २० लाख ८ हजार रुपैयाँभन्दा बढी पाएकी छन्। उनले अवकाश कोषबाट ३ लाख ४७ हजार ६५०, नागरिक लगानी कोषबाट ८ लाख ३५ हजार १८४, कर्मचारी सञ्चय कोषबाट ७ लाख ५२ हजार र शिक्षक कल्याण कोषबाट ५१ हजार १०८ रुपैयाँ प्राप्त गरेकी हुन्।
यो लाभ शिवाकोटीको मात्र होइन। दुई वर्षअघि अवकाश लिएका अर्का शिक्षक आइन्द्र सुब्बाले पनि साढे १० लाख रुपैयाँभन्दा बढी पाएका थिए।
न्यूटन्सका संस्थापक शिक्षासेवी हरिकुमार प्रसाईले शिक्षकको सेवा अवधिलाई कदर गर्दै विभिन्न कोषहरुको व्यवस्था गरेका हुन्। २०६५ सालदेखि सञ्चय कोषको थालनी भएको र पछि अवकाश कोष पनि स्थापना गरिएको थियो, जहाँ प्रसाईले आफ्नै दुई वर्षको तलब योगदान गरेका थिए।
विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाँईका अनुसार चारवटा कोष (कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, शिक्षक कल्याण कोष, र अवकाश कोष) को संयोजनले शिक्षकहरुलाई सेवानिवृत्त हुँदा थप सहजता र आत्मसम्मान मिलेको छ।
शिक्षक शिवाकोटीले पनि यस्तो व्यवस्थाले अन्य संस्थागत विद्यालयलाई उदाहरणीय बन्न प्रेरणा दिने बताएकी छन्।
हाल न्यूटन्समा १६२ जना शिक्षक-कर्मचारी कार्यरत छन्, जसमा ५२ जना स्थायी छन्। चार वर्ष सेवा गरेपछि स्थायी नियुक्ति दिने परिपाटी बनाइएको छ। विद्यालयले पढाइ खर्च, सुत्केरी खर्चजस्ता थप सुविधा पनि प्रदान गर्दै आएको छ।
शिक्षकहरूको माग अनुसार संस्थागत तहमा पनि सामुदायिक विद्यालयसरह सेवा सुविधा अनिवार्य गरिनुपर्ने आवश्यकता देखिएको छ। न्यूटन्सले अपनाएको यो अभ्यास अन्य निजी विद्यालयका लागि अनुकरणीय बन्न सक्ने देखिएको छ।