कोरोना महामारीमा सुरु भएको संस्थाले अझै गरिरहेछ सेवा
दमक — दमकस्थित सानो प्रयास युवा समाजले दमक–५ मा अवस्थित दीपिनी आधारभूत विद्यालयका ३०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
संस्थाले आर्थिक रूपमा कमजोर र अध्ययनमा अब्बल विद्यार्थीहरूलाई लक्षित गर्दै झण्डै १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।

कार्यक्रममा संविधानसभा सदस्य तथा संस्थाका सल्लाहकार समिति संयोजक दीपक कार्की प्रमुख अतिथि थिए।
त्यस्तै, दमक–३ का वडा अध्यक्ष नविन बराल, दमक–५ का वडा अध्यक्ष इन्द्र गुरुङ, वडा सदस्य शोभा खतिवडा बेलबासे र सरु परियार अतिथिका रूपमा सहभागी भएका थिए।

संस्थाका अध्यक्ष छबि खतिवडाका अनुसार सानो प्रयास युवा समाज कोरोना महामारीको कठिन समयमा स्थापना भएको हो। महामारीको समयमा दैनिक १५० जनालाई खाना खुवाउने कार्यबाट सुरु भएको सामाजिक सेवा अभियान हाल पनि निरन्तर जारी रहेको छ।
संस्थाले यसअघि पनि झुल वितरण, खाद्यान्न सहयोग, सरसफाई अभियान, र विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरणजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।