झापा। नेपालका २४ स्थानमा जमिन भासिने उच्च जोखिम देखिएको छ। खानी तथा भूगर्भ विभाग र भूगर्भविद्हरूको २०५५ सालदेखि हालसम्मको अध्ययन अनुसार तराई, मधेस र पहाडी जिल्लासम्ममा जमिन भासिने सम्भावना देखिएको हो।
वैशाख १० गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, गैरीगाउँमा सडकमा गुडिरहेको गाडी जमिन भासिएर हराएको घटनाले जोखिम अझ गम्भीर बनाएको छ। विशेषगरी झापाका भद्रपुर र दमक क्षेत्रमा जमिन भासिने सम्भावना उच्च रहेको बताइएको छ। त्यसबाहेक मोरङको विराटनगर, सुनसरीको धरान, धनुषाको जनकपुरधाम, महोत्तरीको बर्दिबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौँडा, काठमाडौं, नुवाकोट, र सिन्धुली लगायतका ठाउँमा पनि जोखिमपूर्ण भूगर्भिक संरचना रहेको विज्ञहरूको निष्कर्ष छ।
त्यस्तै, चितवनको भरतपुर, कास्कीको पोखरा, तनहुँको दमौली, रुपन्देहीको बुटवल र भैरहवा, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज, बर्दियाको गुलरिया, सुर्खेत, कैलालीका टीकापुर र धनगढी तथा कञ्चनपुरको महेन्द्रनगरमा पनि जमिन भासिने खतरा रहेको छ।
भूगर्भविद्हरूका अनुसार पोखरामा जमिन भासिने जोखिम सबैभन्दा बढी भए पनि झापा लगायतका अन्य स्थानहरूमा पनि सतर्कता आवश्यक छ। जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सरकार र सरोकारवालाबीच समन्वय आवश्यक रहेको विज्ञहरूको सुझाव छ।
One Response
जनता लाई भ्रम छर्ने negetive समाचार । नेपाल मा कुन तेस्तो बिज्ञ छ ? यसरि वाहियात समाचार न लेख्नु नै राम्रो।तेस्तो छ भने सरकार ले आफ्नै हिसाब ले अनुसन्धान गर्ने जिम्मेवारी होइन र ?