झापाम हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ भने बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव समेत देखिएको छ। यसको असर विशेषगरी तराई क्षेत्रका मौसममा देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मधेश र कोशी प्रदेशका तराई भू-भागमा आंशिकदेखि साधारणतया बदली भएको छ। यी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही स्थानहरूमा हावाहुरीसमेत चलिरहेको विभागले जनाएको छ।
दिउँसो मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसमविद्हरूले हावाहुरीको सम्भावना पनि औंल्याएका छन्, जसले दैनिक जनजीवनमा असर गर्न सक्ने अनुमान गरिएको छ।
त्यसैगरी राति पनि मधेश र कोशी प्रदेशका तराई क्षेत्रहरूमा आंशिक बदली रहने सम्भावना छ। यद्यपि अधिकांश स्थानहरूमा मौसम खुल्ने अपेक्षा गरिएको छ। तर, केही स्थानमा हल्का वर्षा हुने सम्भावना कायम रहेको छ।



















