झापा- आफ्नै छोरी जागिरका लागि परीक्षार्थी रहेको शिक्षक तथा कर्मचारी नियुक्तिका लागि परीक्षा तय भएकै दिन परीक्षा रोकेका झापा कचनकवल गाउँपालिका ३ मा रहेको पथरिया माविका अध्यक्ष जयनारायण यादवले उनीमाथि लागेको आरोपको खण्डन गरेका छन्।
उनले आफ्नी छोरी नियुक्त नहुने भएकाले परीक्षा रोकेको भन्ने कुराको खण्डन गरेका हुन्। आफ्नी छोरीलाई नियुक्त गर्न वातावरण नबनेको भन्ने मिडियामा समाचार प्रकाशित भएपछि उनले विज्ञप्ति निकालेर आफूमाथि लागेको आरोपको खण्डन गरेका हुन्।
आफूले आफ्नै स्वास्थ्यमा गम्भीर समस्या आएकाले परीक्षा रद्द गर्नु परेको तर्क गरेका छन्। उनले भने, ‘गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीले मेरो उपस्थितिबिना शिक्षा समितिको बैठक राखे। मलाई विद्यालयको अध्यक्षबाट हटाउन लबिङ गरे। म मुटु रोगी मान्छे। परीक्षको अघिल्लो साह्रै तनाव भयो। अलिअलि चिसो पनि खाइदिएँ। भोलिपल्ट स्वास्थ्यमा निकै समस्या भयो। परीक्षा स्थगित गरिएको पत्र पठाएँ।’
उनले चाँडै परीक्षाको मिति तोक्ने बताएका छन्। गत जेठ ७ गतेका लागि तय गरिएको विद्यालय कर्मचारीका लागि उनकी छोरी श्रृजना यादव पनि परीक्षार्थी रहेकी थिइन्। यादवले अब आफ्नी छोरी परीक्षामा नबस्ने बताए। उनले भने, ‘मेरी छोरीले परीक्षामा बस्नै नहुने भन्ने त कतै लेखिएको छैन होला नि। कि कतै प्रतिस्पर्धा नै गर्न नपाउने हो? तर ममाथि प्रश्न चिह्न उठेपछि छोरीले परीक्षा दिन्न।’
