काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले २१ जना प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गर्दै चेतावनी दिएको छ।
सूचनामा उनीहरू बिना जानकारी तथा स्वीकृति कार्यालयबाट गैरहाजिर रहेको उल्लेख छ। प्रहरी नियमावली, २०७१ को नियम ११५ को उपनियम (२) बमोजिम प्रक्रिया पूरा गरी पटक–पटक खोजतलास तथा सूचना प्रकाशन गरिसक्दा समेत सम्पर्कमा नआएको जनाइएको छ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाद्वारा जारी सूचनामा भनिएको छ, “सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफु गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुनुपर्नेछ।”
तोकिएको समयसीमा भित्र समेत सम्पर्कमा नआएमा उनीहरूलाई प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अनुसार सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने कार्यालयले स्पष्ट पारेको छ।
