झापा। नेपाल पत्रकार महासंघ झापाले जिल्लाका १५ वटै स्थानीय तहलाई लक्षित गरी सुरु गरेको ज्ञापनपत्र बुझाउने अभियानअन्तर्गत आज (आइतबार) बिर्तामोड नगरपालिकामा सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ।
महासंघका अध्यक्ष एकराज गिरीको नेतृत्वमा नगर प्रमुख पवित्रा महतरा प्रसाईलाई ज्ञापनपत्र बुझाइएको हो। कार्यक्रममा उपाध्यक्ष सुव्रत न्यौपानेले बाचन गरेका थिए भने सहजीकरण महासंघका सचिव राजु पाठकले गरेका थिए।
ज्ञापनपत्रमार्फत महासंघले सञ्चारमैत्री नीति तथा कानुन निर्माण र कार्यान्वयन, सञ्चार माध्यमहरुको संरक्षण, स्थानीय विज्ञापन तथा सन्देशमूलक कार्यक्रमहरू जिल्लाभित्रका सञ्चार माध्यमलाई उपलब्ध गराउनुपर्ने, सञ्चारकर्मीको स्वास्थ्य बीमा, क्षमता विकास र मिडिया साक्षरताका लागि बजेट विनियोजनजस्ता विषयमा ध्यानाकर्षण गराएको छ।
त्यस्तै, पत्रकारको सामाजिक सुरक्षाका लागि स्थापना गरिएको पत्रकार सहारा उपचार कोषमा अनुदान सहयोग, महासंघको भौतिक पूर्वाधार तथा उपकरण खरिदमा सहयोग, र खोजमूलक पत्रकारिता तथा लेखनवृत्तिका लागि बजेटको माग पनि समेटिएको छ।
ज्ञापनपत्र ग्रहण गर्दै नगर प्रमुख प्रसाईले नगरको स्रोत र साधनको उपलब्धताअनुसार सञ्चार क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
आजै महासंघले हल्दीबारी, बाह्रदशी र अर्जुनधारा पालिकामा पनि ज्ञापनपत्र बुझाइसकेको र बाँकी पालिकामा भोलिसम्म बुझाउने जानकारी अध्यक्ष गिरीले दिएका छन्। कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य तथा पत्रकारहरुको उपस्थिति थियो।