काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनले सरकारलाई घुँडा टेक्न बाध्य बनाउने दाबी गरेका छन्।
आइतबार गोकर्णेश्वर–३ स्थित तारेभीरमा आयोजित आन्दोलन लक्षित अगुवा कार्यकर्ता भेलामा लिङ्देनले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलन निर्णायक हुने बताए।
“गणतन्त्र दिनदिनै असफल हुँदै गएको छ, गणतन्त्रवादी नेताहरू भ्रष्टाचारमा लिप्त छन्। अब देश र जनताको हितका लागि संवैधानिक राजतन्त्र अपरिहार्य भएको स्पष्ट देखिएको छ,” उनले भने।
लिङ्देनले आन्दोलन शान्तिपूर्ण हुने जानकारी दिँदै सरकारले दमन गर्ने प्रयास गरे अन्तर्राष्ट्रिय समुदायमा मानवअधिकार उल्लंघनको मुद्दा उठाउने चेतावनी पनि दिए। “यो आन्दोलन हाम्रो रहर होइन, देशको आवश्यकता र जनताको माग हो,” उनले भने, “सरकारले दमन गरे त्यसको जवाफ अन्तर्राष्ट्रिय रुपमा दिनुपर्नेछ।”
उनले जेठ १५ गतेदेखि देशभरिबाट लाखौँ नागरिकलाई काठमाडौंको सडकमा उतार्ने तयारी गरिएको जानकारी दिँदै जनदबाबको अघि वर्तमान सत्ता व्यवस्था झुक्ने दाबी गरे।