काठमाडौं, जेठ १९ — देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली रहेको छ भने कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसोको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने मौसम मुख्यतः सफा रहने विभागको भनाइ छ।
विभागका अनुसार ती पहाडी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपात हुने अनुमान गरिएको छ।
रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका पहाडी क्षेत्रहरूमा थोरै स्थानमा र अन्य भू-भागमा एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा भने राति पनि हल्का वर्षासँगै हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। विभागले चट्याङ र वर्षाबाट सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरेको छ।



















