काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूको प्रदर्शनका कारण सरकार डराएको बताएका छन्। उनले सरकारले निषेधित क्षेत्र घोषणा गर्नुलाई सरकारको कमजोरीको प्रमाण भएको दाबी गरे।
पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लिङ्देनले आन्दोलन उत्साहप्रद रहेको र आगामी कार्यक्रमलाई झनै मजबुत बनाउने बारेमा छलफल भएको जानकारी दिए। उनले आन्दोलन समितिको निर्देशनअनुसार सबै परिचालित हुने निर्णय गरेको पनि बताए।
लिङ्देनले भने, “हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका राजसंस्था पक्षधरहरूको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र घोषणा गर्नु भनेको सरकार डरायो। सरकार कमजोर भयो भन्ने कुराको प्रमाण हो।” उनले आफ्नो आन्दोलन उत्कर्षतर्फ उन्मुख रहेको र यसले आफूहरूलाई उत्साहित तुल्याएको बताए।
अध्यक्ष लिङ्देनले जेठ १५ गते प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि काठमाडौं आह्वान गर्दा गणतन्त्रको पक्षधर स्पष्ट भएको बताए। दुई दिनको आन्दोलनको प्रभावका कारण सरकारले निषेधित क्षेत्र बनाएको भन्दै, यसले गणतन्त्र झन् कमजोर हुँदै गएको प्रमाणित भएको उनले धारणा राखे।