काँकडभिट्टा| झापाको मेचिनगर नगरपालिका–६, काँकडभिट्टामा रंगिन प्रिन्ट गरिएको नक्कली नोटसहित एक व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति तेह्रथुम जिल्ला, ओयाक्जुङ गाउँपालिका–५ (नेलई) निवासी २८ वर्षीय गणेश भारती रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।
प्रहरीका अनुसार आइतबार करिब ९ बजेतिर काँकडभिट्टास्थित नेपाल बैंक अगाडि शंकास्पद हिँडडुल गरिरहेको अवस्थामा भारतीलाई प्रहरीले चेकजाँच गरेको थियो। सो क्रममा उनको साथबाट नेपाली एक हजार रुपैयाँको जस्तो देखिने नोटहरू फेला परेका थिए।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार, भारतीको साथबाट नोट नम्बर ञ.३१–८६६५७९ लेखिएको ४२ थान, ज.१२–०८३५७९ लेखिएको ५६ थान र झ.७६–२३८८२६ लेखिएको २ थान गरी जम्मा १०० थान खोटा नोट बरामद गरिएको हो। ती नोटहरू रंगिन प्रिन्टर प्रयोग गरी छापिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका भारतीलाई मुलुकी फौजदारी संहिता २०७४ अन्तर्गतको खोटा नोट चलनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत झापाबाट अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ।