झापा। देशभर मौसमको विविध प्रभाव देखिएको छ। हाल देशको पश्चिमी र मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुले प्रभाव जमाएको छ भने कोशी प्रदेशमा भने मनसुनी वायुले सक्रिय भूमिका खेलेको छ।
नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशको अधिकांश पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भू-भागहरूमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै, मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको छ।
बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा वा हिमपात हुने सम्भावना समेत देखिएको छ।
आज रातिको मौसम पनि लगभग दिनकै जस्तै रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरूमा मौसम प्रायः सफा नै रहनेछ।
रातिको समयमा पनि कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना यथावत् रहेको छ।
मौसमी अवस्थाका कारण जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसमविद्हरूले आग्रह गरेका छन्।