काठमाडौं। अज देशभरि सामान्यदेखि पूर्ण बदलीको अवस्था रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, यी प्रदेशहरूका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै भू-भागमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव सक्रिय छ। देशको पश्चिमी भागमा भने पश्चिमी वायु र स्थानीय वायुले आंशिक प्रभाव पारेको छ। साथै, भारतको पश्चिम बङ्गाल आसपास विकसित भएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव पनि नेपालको मौसममा परेको विभागले जनाएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो तथा यातायातमा अवरोध हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विभागले सबैमा अनुरोध गरेको छ।