- नवीन उप्रेती
झापा — कचनकवल गाउँपालिकाले लागूपदार्थ दुर्व्यसन नियन्त्रणका लागि सञ्चालन गरेको ‘लागूऔषध विरुद्ध आमा सशक्तीकरण कार्यक्रम’को दोस्रो चरण एक विशेष समारोहका बीच शुक्रबार सम्पन्न भएको छ।
गाउँटोलस्तरसम्म पुगेर सञ्चालन गरिएको कार्यक्रमको दोस्रो चरणको समापन कचनकवल–२ स्थित सुकुनाडिगीको सामुदायिक भवनमा गरिएको हो। कार्यक्रम अन्तर्गत पालिकाका विभिन्न वडामा चरणबद्ध रूपमा पुगेर हजारभन्दा बढी आमासँग प्रत्यक्ष अन्तरक्रिया गरिएको थियो।

समापन समारोहको अध्यक्षता गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक नवराज भट्टराईले गरे। सम्बोधनका क्रममा उपाध्यक्ष भट्टराईले समाजमा बढ्दो लागूपदार्थ दुर्व्यसनप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आमाको भूमिकालाई सशक्त रूपमा प्रस्तुत गरे।
“अहिलेको समाजमा अभिभावक स्वयं आफ्ना सन्तानसँग डराउने अवस्था सिर्जना हुनु पारिवारिक मात्र नभई सामाजिक संकटको संकेत हो,” उनले भने, “आजको सन्दर्भमा आमा केवल मायाको प्रतीक मात्र होइनन्, उनीहरू अनुशासन, मार्गदर्शन र परिवर्तनका सक्षम माध्यम हुन्।”

भट्टराईले वैदेशिक रोजगारी, पारिवारिक विघटन र सामाजिक बेमेलका कारण युवाहरू लागूपदार्थको दलदलमा फस्दै गएको बताउँदै त्यसलाई रोक्न आमाहरूको सक्रिय सहभागिता अपरिहार्य भएको उल्लेख गरे। “प्रहरी, विद्यालय र स्वास्थ्य संस्थाहरूको संयन्त्र त सक्रिय छन् तर आमाहरूको सक्रियता र सचेतना बिना यो संकटको समाधान सम्भव छैन,” उनले जोड दिए।

समापन कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख केशव मैनाली, प्रशिक्षक सोमराज ढकाल, कार्यक्रम सञ्चालक उमेश मिश्र, स्थानीय जनप्रतिनिधि तथा महिला सहभागीहरूको उल्लेखनीय उपस्थिति थियो। श्री लक्ष्मीप्रसाद देवकोटाको स्काउट दलले पनि कार्यक्रममा सक्रिय सहभागिता जनाएको थियो।

सहभागी आमाहरूले कार्यक्रम प्रभावकारी, व्यावहारिक र समयसापेक्ष रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता सचेतनामूलक कार्यक्रमलाई पालिकाले नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
दोस्रो चरणअन्तर्गत सञ्चालन भएका कार्यक्रमहरू २०८१ फागुन २३ गते गाउँपालिकाको सभाहलमा उद्घाटन भएको थियो। त्यसपछि क्रमशः २०८२ वैशाख २३ गते सिघिमारी, २४ गते डुगडिगी, २५ गते तारावाना, जेठ २६ गते दल्की, २७ गते फुलबारी, २९ गते डाँडागाउँ, ३० गते केचना, ३१ गते सितागढी, असार ५ गते घेराबारीमा कार्यक्रम सम्पन्न भएको हो। समापन कार्यक्रम असार ६ गते सुकुनाडिगीमा सम्पन्न भएको हो।