पालिका सन्देश । झापाको बुद्धशान्ति गाउँपालिकाले शुक्रबार उद्घाटन गरेको १६औं गाउँसभा अधिवेशनको दोस्रो सभा आज पनि बसेको छ । शुक्रबार गाउँ सभाले आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रमसंगै बजेट सार्वजनिक गरेको थियो ।
उक्त सार्वजनिक गरेको बजेट छलफल तथा संसोधन सहित पारित गर्न आज सोमबारलाई दिन तोकिएको थियो तर आज पनि नीति तथा कार्यक्रम साथै सर्वसम्मत रुपमा बजेट पास हुन सकेन । पुनः १३ गते शुक्रबारलाई सभा बस्ने भन्दै गाउँपालिका अध्यक्ष एवम् सभाका सभापति मनोज प्रसाई सभाको अन्त्य गरे ।
सभामा सदस्यहरुले विभन्न कार्यक्रमलाई संसोधन गर्न आफ्नो कुरा राखे । सभाका २४ जना बहुमत सदस्यहरुले बुद्धशान्ति १ को सीतारमेश बहुमुखी क्याम्पसका बिषयमा कुरा उठाए । गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रममा क्याम्पसलाई १५ लाख बजेट छुट्याइएको थियो । उक्त बजेट आगामी आबको बजेटमा समावेश गरिएको तर स्थानीय तहको कार्यक्षेत्रमा नपर्ने, महालेखाले पनि यस अघि पटक पटक बेरुजु समेत लेख्दै आएको उच्च शिक्षा अर्थात् क्याम्पस तहको पढाई हुने शैक्षिक संस्थामा पुःन लगानी गर्ने गरीको बजेट प्रस्तावमा असहमति रहेको जनाउँदै हस्ताक्षर गरेर सभाका सभापतिलाई निवेदन बुझाएका थिए ।

सभामा असहमति जनाउने सदस्यहरुले स्थानीय तहको कार्य क्षेत्रमा पर्ने विद्यालयहरुको अवस्था के छ ? हामीले हाम्रो कार्य क्षेत्र भित्र रहेका विद्यालय र त्यसको शैक्षिक स्तर माथि उठाउन कति न्याय गरिरहेका छौं ? गम्भिर भएर सोच्ने बेला वितिसकेको भन्दै धारणा व्यक्त गरेका थिए । उनीहरुले महालेखाले हरेक बर्ष बेरुजु देखाउँदै आएको बजेटमा समर्थन नरहेको जनाएका थिए ।