काठमाडौं, असार १३ । हाल कोसी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यससँगै कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना पनि महाशाखाले जनाएको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले बाढी, पहिरो तथा सडक अवरोध जस्ता जोखिमको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।