छुपुमा छुपु खेतै रोपौँ, हातमा बीउ छउन्जेल।
जे खानु खाइयो, जे लाउनु लाइयो, बाबाको ज्यूँछन्जेल।
असार १५ मा दही चिउरा खाऔँ, साउने १५ मा खिर।
घरमा छैन शीतल वचन, मनमा छैन थिर।
‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ यस वर्ष २२औँ राष्ट्रिय धान दिवस मनाइँदैछ। सनातन कालदेखि नै नेपालमा असार १५ लाई विशेष दिनको रूपमा लिइन्छ। यथार्थमा यो दिन ‘मानो रोपेर मुरी फलाउने’ शुभ सुरुवातको प्रतीक हो।
संयुक्त राष्ट्रसंघले सन् २००४ मा धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि नेपालमा पनि असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको हो। सन् २००४ देखि औपचारिक रूपमा सुरु भएको यो परम्परा आज १८ औँ वर्षमा प्रवेश गरेको छ।
धेरै पहिलेदेखि असार १५ का दिन नेपालीहरुले दही चिउरा खाएर र खेतमा रोपाइँ गरेर यो पर्व मनाउँदै आएका छन्। यो दिनको विशिष्टता घरपरिवारमा पारिवारिक वातावरणमा मिलेर दही चिउरा, कोला, आँप, मिठा फलफूलहरू खाएर रमाइलो गर्नु हो।
त्यस दिन भुमिरात्रिको पूर्वसन्ध्यामा भुमीपूजा गरिन्छ र भोलिपल्ट अर्थात् असार १५ मा रोपाइँ सुरु गरिन्छ। परम्परागत रूपमा नौमती बाजासहित असारे गीत गाएर खेतमा रोपाइँ गरिन्छ, जसलाई ‘बेठी’ भनिन्छ।
सुरिलो लोक भाकामा गाइने गीत जस्तै,
“रोप न रोप रोपारै नानी, म पँज्याइ दिउलाँ बीउ,
हलिलाई दिउला एकराते दही, वाउसेलाई दिउँला घिउ।
असारमास छिपछिपे हिलो, खै लाग्यो फालिमा,
बुबालाइ भनी दोप्परे ल्याए, सेलायो आलिमा।”
जस्ता भाकाले रोपाइँमा रमाइलोपन थप्ने गर्छ।
धान रोप्ने काममा बिभिन्न भूमिकाहरू छन्,
- बीउ काड्ने: व्याडे
- छेउ मिलाउने: बाहुसे
- हलो जोत्नेलाई: हलि
- हातले रोप्ने: रोपार
असार १५ मा दही चिउरा खाने चलन अब राष्ट्रिय स्तरमै स्थापित भएको छ। यस दिन दहीको माग अत्यधिक हुन्छ। डेरी व्यवसायीहरू हप्तौ अघिदेखि दहीको तयारीमा जुट्छन्। बजारमा दहीको अभाव नहोस् भनेर उपभोक्ताहरूले अघिल्लो दिन नै किन्न थाल्छन्।
गाउँघरदेखि सहरी क्षेत्रसम्म यो पर्व मनाइन्छ। कतिपय विद्यालयहरूमा विद्यार्थीलाई रोपाइँमा सहभागी गराएर दही चिउरा खुवाउने चलन पनि सुरु गरिएको छ, जुन परम्पराको जगेर्ना तथा पुस्तान्तरणमा सहयोगी छ।
नेपाल जस्तो कृषिप्रधान देशमा असार १५ ले कृषिको महत्त्व, परम्परा र संस्कृतिको जगेर्नामा योगदान पुर्याउँछ। यस्तो पर्वले हाम्रो संस्कृति र पहिचानलाई संरक्षण गर्ने मात्र नभई, पर्यटन प्रवर्द्धनमा पनि भूमिका खेल्न सक्छ।
नेपालमा हाल समुद्र सतहदेखि ६० मिटरदेखि ३०५० मिटर उचाइसम्म धान खेती हुन्छ। यहाँ ११८ जातका धान पाइन्छन्। तथापि हामी अझै आयातमा निर्भर छौं। खेतबारी बाँझो छन्, सिँचाइको उचित व्यवस्था छैन, आधुनिक प्रविधि छैन, र युवाहरूको आकर्षण कृषितर्फ छैन।
कृषि अझै पनि ‘गरिब, अशिक्षितको काम’ भन्ने मानसिकता कायम छ। तर अब समय आएको छ। कृषिलाई आधुनिक बनाउने, किसानलाई प्रोत्साहित गर्ने र आत्मनिर्भर देश बनाउने।
‘कृषिप्रधान’ भन्ने नामलाई सार्थक बनाउन सबै नागरिक लाग्नुपर्छ। असार १५ जस्ता पर्वहरू केवल परम्पराको सन्देश होइनन्, तिनले देशको विकास र आत्मनिर्भरतातर्फ डो-याउने गहिरो प्रेरणा पनि दिन सक्छन्।