कचनकवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा झापाको कचनकवल गाउँपालिकामा हस्ताक्षर संकलन अभियान तीव्र गतिमा अघि बढेको छ। रास्वपा कचनकवल गाउँ कार्यसमितिको नेतृत्वमा सञ्चालन भइरहेको “रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान” असार १३ गते बनियानी बजारबाट सुरु भएको हो।
पार्टीका क्षेत्रीय उपसभापति सोम चम्लागाईंका अनुसार उक्त अभियान असार १४ गते बगान बजार, १५ गते केचना बजार हुँदै १६ गते पुनः बनियानी बजारमा दोहोर्याइएको छ। हालसम्म करिब २५ सय भन्दा बढी स्थानीय नागरिकले हस्ताक्षर गरिसकेको जानकारी उनले दिए।
“हामीले बनियानीबाट सुरु गरेर वजार क्षेत्रका बासिन्दासँग हस्ताक्षर संकलन गरिरहेका छौं,” उपसभापति चम्लागाईंले बताए, “जनताले रवि लामिछानेप्रति देखिएको अन्यायपूर्ण व्यवहारलाई लिएर चासो राखेका छन्। त्यसलाई सशक्त नागरिक आवाजमा रूपान्तरण गर्ने हाम्रो उद्देश्य हो।”
रास्वपा कचनकवलका अनुसार पहिलो चरणमा वडा र बजार चोकहरूमा हस्ताक्षर संकलन गरिएको छ भने दोस्रो चरणमा टोलटोलमा पुगेर अभियान विस्तार गर्ने तयारी गरिएको छ। अभियानमा युवादेखि वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिता रहेको पार्टीको दाबी छ।
चम्लागाईंले यो अभियान कुनै दल विशेषको नारा मात्र नभई “जनताको मत, विश्वास र राष्ट्रियता प्रतिको कटिबद्धताको अभिव्यक्ति” भएको बताए। “हामी प्रत्येक टोलटोलमा पुग्दा जनचेतना झनै फैलिनेछ,” उनले भने।
रास्वपाले यस अभियानमार्फत लामिछानेविरुद्धको मुद्दालाई जनस्तरसम्म लैजाने र राजनीतिक दबाब सिर्जना गर्ने रणनीति लिएको छ। संकलित हस्ताक्षरहरू जिल्ला र केन्द्रसम्म पठाइने जानकारीसमेत समितिले दिएको छ। कचनकवलमा यस प्रकारको व्यवस्थित र चरणबद्ध राजनीतिक हस्ताक्षर संकलन अभियान पहिलो पटक सञ्चालन भएको हो। आगामी दिनमा अभियानलाई थप प्रभावकारी बनाउने तयारीमा कार्यदल खटाइएको रास्वपाले जनाएको छ।