काठमाडौं । नेपाल–चीन सिमानास्थित ल्हेन्दे खोलामा सोमबार राति आएको भीषण बाढी र पहिरोमा परी मृत्यु भएका सात जनाको शव फेला परेको छ ।
अझै १८ जना बेपत्ताको खोजी जारी छ । बेपत्ता हुनेमा तीन जना प्रहरी, नौ जना सर्वसाधारण र छ जना चिनियाँ नागरिक रहेका छन् ।
सुरक्षाकर्मीहरू सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा हालसम्म ५७ जनाको सकुशल उद्धार गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिका–९ का ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीया पत्नी मंगलीमाया तामाङ दाउरा खोज्न खोलातिर गएका बेला बाढीले घेरिएको थियो । करिब एक घण्टा सिसौको रुखमा बसेर ज्यान जोगाएका उनीहरूको सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत मजदूरहरूको समेत उद्धार गरिएको छ। सेनाको ‘एनए–०३८ एमआई’ र ‘इकुरेल’ हेलिकप्टर प्रयोग गरी २३ जनालाई सुरक्षीत स्थानमा पुर्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
बेपत्ताको खोजीमा धादिङस्थित नम्बर–६ बाहिनी अड्डाबाट खटिएको सेनाको टोली गल्छी हुँदै त्रिशुलीतर्फ र रसुवास्थित श्रीनाथ गणको टोली स्याफ्रुवेशी इलाकातर्फ परिचालित गरिएको थियो। सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजीमा खटिएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक कृष्णबहादुर धितालका अनुसार बाढीले भन्सार यार्डमा रहेका मालवाहक कन्टेनरका डिब्बा बगाएको छ भने रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा ठूलो क्षति पुगेको छ।
हाल खोलामा पानीको बहाव घटे पनि जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढीले उत्तरगया गाउँपालिका–१ मैलुस्थित बेलिब्रिज बगाएको छ । साथै सेनाको पोस्टअगाडिको बेत्रावती–स्याफ्रुवेशी सडकखण्डमा पर्ने त्रिशूलीको नयाँ बेलिब्रिज बगाउँदा स्थानीय आवतजावत प्रभावित भएको छ। त्यहाँ भर्खरै निर्माण गरिएको पक्की पुलसमेत लेदोले पुरिएको छ।
प्रधानमन्त्री र गृहमन्त्री बाढीस्थलमा
सबै कार्यक्रम स्थगन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित सरकारी उच्चपदस्थ टोली बाढी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन्।
प्रधानमन्त्री ओलीले तत्काल उद्धारमा केन्द्रित भइ त्यसपछि राहत र पुनर्निर्माणको काम अघि बढाउने बताए। प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई उद्धारमा तदारुकता देखाउन निर्देशन दिँदै उनले उद्दार गरिएका व्यक्तिहरूका लागि आवास र राहतको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।
गृहमन्त्री लेखकले पनि सुरक्षा निकायहरूलाई उद्धार कार्य र बेपत्ता व्यक्तिहरूको खोजीमा पूर्ण सक्रिय रहन निर्देशन दिएका छन्।