काठमाडौं । यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो ।
देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ । कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए । उनका अनुसार मौसमको प्रतिकूलताले असर देखा नपरे साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा करिब ९७ प्रतिशत रोपाइँ सम्पन्न हुँदा एक लाख ७१ हजार हेक्टरमा रोपाइँ भएको सूचना अधिकारी जोशीले उल्लेख गरे । प्रतिशतका हिसाबले यहाँ सबैभन्दा बढी रोपाइँ सम्पन्न भएको छ । वाग्मती प्रदेशमा ८७ प्रतिशत रोपाइँ सम्पन्न हुँदा एक लाख पाँच हजार हेक्टरमा रोपाइँ सकिएको छ ।
गत वर्ष यही अवधिमा करिब ८४ प्रतिशत धान रोपाइँ भएको थियो । मन्त्रालयले आइतबारसम्म संकलन गरेको तथ्यांकअनुसार देशका केही भागमा रोपाइँ जारी छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी जोशीका अनुसार धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । “सो क्षेत्रबाट धानको उत्पादकत्वमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ”, उनले भने ।
आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो । मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ ।
पछिल्लो पटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान छ ।
धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
यस वर्ष स्वदेशमा उत्पादन हुने अनुमान गरिएको ६० लाख मेट्रिकटन धानबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल बन्ने मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिए । रासस